गैडाकोटमा बस र तेल ट्याङ्कर ठोक्किँदा चारजना घाइते

गैडाकोट, कात्तिक १४ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैडाकोट नगरपालिका-१० कोटिहोम अगाडिको पूर्व-पश्चिम राजमार्गमा आज दिउँसो बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।

 

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार कात्तिक १४ गते दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा बुटवलबाट वीरगञ्जतर्फ आउँदै गरेको लु २ ख ६८२८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर ठोक्किँदा दुर्घटना भएको हो।

 

दुर्घटनामा ट्याङ्कर चालक नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका-८ का ५६ वर्षीय तिलकराम योगी थारु, बस चालक पाल्पा रम्भा गाउँपालिका-३ का ३७ वर्षीय विकास न्यौपाने, बसमा सवार बर्दघाट नगरपालिका-२ की ३३ वर्षीया गंगाकुमारी गिरी र उनकी ७ वर्षीया छोरी अपना गिरी घाइते भएका हुन्।

 

थारुको दायाँ हात र टाउकोमा सामान्य चोट लागेपछि स्थानीय मेडिकलमा उपचार गरी डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। बस चालक न्यौपानेको दायाँ खुट्टा र ढाडमा चोट लागेको र उनको अवस्था मध्यम रहेको बताइएको छ। त्यस्तै, गंगा गिरीको दायाँ खुट्टा र बाँया हातमा र उनकी छोरी अपनाको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ।

 

घाइतेहरूलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ। दुर्घटनापछि केही समय अवरुद्ध बनेको बाटो अहिले सुचारु गरिएको प्रहरीले जनाएको छ। बस र ट्याङ्कर दुबैमा क्षति पुगेको र दुबै सवारीसाधन घटनास्थलमै रहेको प्रहरीले बताएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको