चितवन / नवलपुर — चितवन र नवलपुरलाई जोड्ने बहुप्रतिक्षित ‘सिग्नेचर ब्रिज’ निर्माण परियोजना औपचारिक रूपमा सुरु भएको छ। परियोजनाको नक्सा स्वीकृत भएपछि नारायणी नदीमार्फत दुवै जिल्लालाई सिधा जोड्ने यो आधुनिक पुल निर्माणको कार्य अघि बढाइएको हो।
परियोजना सम्बन्धी सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ र मंसिर महिनाबाट निर्माण कार्यलाई थप तीव्रता दिने तयारी गरिएको छ। पुल निर्माणका लागि एक अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
यस पुल निर्माणसँगै चितवनको दक्षिणी क्षेत्र विशेषगरी माडी क्षेत्र र नवलपुरबीचको यातायात सहज र द्रुत बन्ने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि यात्रु तथा व्यावसायिक ढुवानीमा ठूलो सुधार आउने मात्र नभई दुवै जिल्लाको पर्यटन, व्यापार, तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने परियोजना अधिकारीहरूले बताएका छन्।
परियोजनामा अत्याधुनिक प्रविधि तथा आकर्षक ढाँचाको प्रयोग हुने भएकाले यसलाई ‘सिग्नेचर ब्रिज’ नाम दिइएको छ। पुल निर्माणले स्थानीयवासीमा उत्साह थपिएको छ भने परियोजनाको सफल समापनले क्षेत्रीय विकासमा नयाँ अध्याय सुरुवात गर्ने विश्वास गरिएको छ।







