अक्सफोर्ड कलेजमा खुला पञ्चे/नौमती बाजा प्रतियोगिता सम्पन्न, कालिका फेदी समूह प्रथम

गैँडाकोट, कार्तिक २५ । शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक उत्थानमा पनि उदाहरणीय योगदान पुर्‍याउँदै आएको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM)ले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खुला पञ्चे/नौमती बाजा प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ।

कार्यक्रम परिवार सेवा समाज, नवलपुरको आयोजनामा तथा अक्सफोर्ड कलेजको प्रवर्द्धनमा कलेजकै प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रममा परिवार सेवा समाज, नवलपुरका सभापति प्रकाश परियार सभापति रहेका थिए भने प्रमुख अतिथि कलेजका प्रिन्सिपल प्रा. डा. इन्जिनियर हरि भण्डारी रहेका थिए।

प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमी प्रा. डा. इ. हरि भण्डारीले अक्सफोर्ड कलेजले शैक्षिक उत्कृष्टता मात्र होइन, मौलिक संस्कृतिको सम्बर्द्धनमार्फत देशको पहिचानलाई विश्व समुदायमा उजागर गर्न उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए। उनले पञ्चे बाजालाई नेपाली मौलिक संस्कृति र पहिचानको प्रतीकका रूपमा व्याख्या गर्दै यस्तो परम्परागत बाजाले “नेपालीपन” झल्काउने र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि परिवार सेवा समाजका पूर्व केन्द्रीय अध्यक्ष दिल बहादुर परियारले परम्परागत बाजा र संस्कृतिको निरन्तरता आगामी पुस्ताको जिम्मेवारी रहेको उल्लेख गर्दै सांस्कृतिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। त्यस्तै, गैँडाकोट नगरपालिका–२ का वडाध्यक्ष प्रकाश सापकोटाले स्थानीय संस्कृति र समुदायबीचको सहकार्यले सांस्कृतिक पुनर्जागरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतियोगितामा १० वटा समूहले दर्ता गराएका मध्ये ६ वटा समूहले प्रत्यक्ष सहभागिता जनाएका थिए। निर्णायक संयोजक बिन खाती (तनहुँ) र सदस्यहरू गङ्गा बहादुर पाण्डे (गैँडाकोट) तथा दिपेन्द्र ठकुरी (चितवन) रहेका थिए। कार्यक्रमको सञ्चालन वडासदस्य साकिला परियारले गरेकी थिइन्।

प्रतियोगितामा कालिका फेदी नौमती बाजा समूह प्रथम, कोटथर नौमती बाजा समूह द्वितीय र माहादेवस्थान नौमती बाजा समूह तृतीय घोषित भएका छन्। विजेता टोलीहरूले क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार प्राप्त गरेका छन् भने सान्त्वना टोलीहरूले रु. ५ हजारका दरले पुरस्कार पाएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको