
नवलपुर, भदौ ३१ । हालै सम्पन्न ‘Gen Z’ आन्दोलनका क्रममा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायको हतियार, सञ्चार उपकरण, लिखत तथा विभिन्न सामग्री नियन्त्रणमा लिइएको वा हराएको अवस्थामा फेला परे तुरुन्त नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) ले आग्रह गरेको छ।
प्रहरीले हराएका वा नियन्त्रणमा रहेका सामग्री वा चिजबस्तु फेला परेमा जिल्ला प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८५७०११४५४ र ९८५७०१०५५४ मा सम्पर्क गरी बुझाउन अनुरोध गरेको छ।
त्यसैगरी आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले सरकारी कार्यालय, व्यावसायिक केन्द्र, निजी तथा अन्य स्थानबाट नियन्त्रणमा लिएका सामग्री चीजबस्तु नजिकको प्रहरी कार्यालयमा बुझाउन तथा कुनै किसिमको दुरुपयोग नगर्न/नगराउन पनि अनुरोध गरिएको छ। यसबारे सम्बन्धित सूचनाहरू भएमा प्रहरीलाई उपलब्ध गराउन आम जनसमुदायलाई आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा सबैलाई यसबारे सहयोग गर्न आग्रह गरिएको जनाइएको छ।