
गैंडाकोट, फागुन २८ । होली पर्वको अवसरमा गैंडाकोट २ मा रहेको इगल्स युथ क्लवले नारायणी नदी किनार पुल नजिकै बृहत होली उत्सव कार्यक्रम गर्ने भएको छ ।
इगल्स युथ क्लबले होलीको पावन अवसर पार्दै सांगीतिक पारखीहरूका लागि नयाँ स्वाद पस्कँदै बृहत होली उत्सव २०८१ को आयोजना गरिएको कार्यक्रमका संयोजक शिशिर कँडेल क्षेत्रीले बताए । उनले होली पर्वको अवसरमा यही चैत १ गते शुक्रबार दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म विविध सांस्कृतिक कार्यक्रमहरू सहित स्थानीय तथा राष्ट्रिय स्तरका डिजे, गिटारिस्ट, र्याप र पप गीतहरूका प्रस्तुति रहने जानकारी दिए। कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि कार्यक्रम स्थानमा सुरक्षा व्यवस्था, दर्शकहरूको आवतजावतमा सहजता, निःशुल्क वाइफाइ, निःशुल्क पार्किङ लगायतका व्यवस्थापनहरू गरिसकिएको जानकारी सोही क्लबका उपाध्यक्ष प्रेम आले मगरले बताए । आलेले होली पर्वको धार्मिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्न तथा पर्वलाई मनोरन्जनात्मक बनाउन र पछिल्लो समय युवाहरूको चाहना अनुसार कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । प्रवेश निशुल्क गरिएको उक्त कार्यक्रममा कुनै प्रवेश शुल्क नतोकिएको र सहज रूपमा कार्यक्रममा सहभागी भई मनोरञ्जनात्मक प्रस्तुतिहरू हेर्न र रमाउन सकिने जानकारी आयोजकले दिएको छ ।