
गैँडाकोट, असोज ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गैँडाकोट नगरपालिका कमिटीले संविधान दिवसको अवसरमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य रविन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यस्तै केन्द्रीय सल्लाहकार परिषद् सदस्य दीपक अधिकारी, प्रदेश कमिटी सदस्य गोपेन्द्र केशरी न्यौपाने, जिल्ला कमिटी उपसचिव सडानन्द लामिछाने, जिल्ला कमिटी सदस्य एवं सहजकर्ता गिरिराज उपाध्याय, जिल्ला सदस्य दिनेशराज न्यौपाने, जिल्ला सदस्य गीता तिवारी, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य श्रीराम सुवेदी, जिल्ला कमिटी सल्लाहकार भुमा पुनलगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि अधिकारीले संविधान दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले भने, “संविधानले जनताको अधिकार सुरक्षित गरेको छ। तर, अधिकारसँगै जिम्मेवारी पनि पूरा गर्नुपर्ने हुन्छ। जेनजेड आन्दोलनले युवाको असन्तोषलाई देखाएको छ, त्यसलाई अवसरका रूपमा लिनुपर्छ। अब हाम्रो पार्टीले युवालाई विश्वास दिलाउने काम गर्नुपर्छ।” उनले संगठनलाई अझ अनुशासित र जनतामुखी बनाउन नेतृत्व तह गम्भीरतापूर्वक अघि बढ्ने आश्वासन पनि दिएका थिए।
कार्यक्रममा पछिल्लो जेनजेड आन्दोलनको समीक्षा गरिएको थियो। सो क्रममा कार्यकर्ताहरूले आन्दोलनपछि पार्टीको संगठनात्मक अवस्था, जनतामा देखिएको असन्तोष र आगामी दिनमा पार्टीले लिनुपर्ने बाटोबारे सुझावसहित प्रश्नहरू गरेका थिए।कार्यक्रम नगर कमिटी अध्यक्ष कृष्ण कंडेलको सभापतित्व एवं नगर कमिटी सचिव राजु भुसालको सहजीकरणमा सम्पन्न भएको थियो।