
गैंडाकोट, असोज २० । भाद्र २३ गते सुरु भएको जेन्जी आन्दोलन भोलिपल्ट अर्थात् भाद्र २४ गते आइपुग्दा नियन्त्रणभन्दा बाहिर पुगेको थियो। सुरुवातमा न्याय र परिवर्तनका नारासहित अघि बढेको आन्दोलन चाँडै नै हिंसात्मक रूप लिँदै देशका प्रमुख प्रशासनिक भवन, सरकारी सवारीसाधन र स्थानीयदेखि केन्द्रीय तहका नेताहरूका घरधुरीसम्म फैलिएको थियो। आगजनी, तोडफोड र धुवाँले ढाकिएको दृश्यले सिङ्गो देश नै आक्रान्त बनाएको थियो।
२४ गते जेन्जीका युवा समूहले राजनीतिक नेताहरूका घरमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका थिए। ती युवाहरू ‘आन्दोलनको नाममा न्याय खोज्दै’ हिँडे पनि स्थानीयका अनुसार यसको पछाडि व्यक्तिगत वा राजनीतिक द्वन्द्व र बदला लिने खेल लुकेको साथै ती क्रियाकलापहरूमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताकै सहभागिता आफूहरूले देखेको बताएका छन्।
आन्दोलनमा स्थानीय तहका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तासमेत एकअर्कामाथि आरोप-प्रत्यारोपमा उत्रिएका छन्। आफ्नो निजी घर र सवारी साधनहरू जलाइएका एक नेताले भने, “हामी आन्दोलनको उद्देश्यसँग सहमत थियौं, तर हाम्रो घरमा आगजनी हुनु, सवारीसाधन तोडिनु यो आन्दोलन होइन, राजनीतिक प्रतिशोध हो।”
सामाजिक विश्लेषकहरूका अनुसार आन्दोलन नागरिक अधिकार र परिवर्तनको मागका लागि हुन सक्ने भए पनि हिंसा, तोडफोड र आगजनीको बाटोले समाजमा आपसी अविश्वास र द्वन्द्व बढाउने खतरा रहन्छ।
केही पीडितहरूले त आफ्नो घर जलाउनेमा आफ्नै दलका कार्यकर्ता, र व्यक्तिगत रिसिबीमा रहेका व्यक्तिहरूको नै संलग्नता रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार जेन्जीका युवाहरूको नाममा केही राजनीतिक शक्तिहरूले योजनाबद्ध रूपमा हिंसा भड्काएका हुन्।
तर घटनाको एक महिना समय बित्नै लाग्दा पनि कुनै व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छैन। सुरक्षा निकायले केन्द्रबाट नै शान्ति सुरक्षामा पूर्ण प्रतिबद्धता जनाएको भए पनि अकल्पनीय र विध्वंस नहुने आकलन गरिएको छ ।
आन्दोलन अधिकारका लागि हुनुपर्छ, तर यसरी आगो र आक्रोशको सहारा लिएर समाज जलाउनु विनाशको मार्ग हुन जान्छ । जेन्जी आन्दोलन अहिले राजनीतिक शक्ति प्रदर्शनभन्दा बढी आपसी अविश्वास, डर र द्वन्द्वको प्रतीक बनेको प्रष्ट देखिएको छ ।