
गैंडाकोट, असोज २१ । दशैंको अवसरमा गुल्मी अर्घाखाँची लगायतका पहाडी जिल्लाहरूमा विशेष रूपमा प्रदर्शन गरिने सांस्कृतिक सम्पदा साराय नाच मङ्गलबार गैंडाकोटमा पनि उत्साहपूर्वक प्रस्तुत गरिएको छ। गुल्मी-अर्घाखाँची सेवा समाज गैंडाकोटले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीयवासी र अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गरेका थिए। जेन्जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका मेयर अधिकारीले आफ्नो मन्तव्यमा पछिल्ला घटनाक्रम र व्यक्तिगत पीडा खुलाएका थिए। “मेरो निजी सम्पत्तिमा अझै पनि आगो बलिरहेको छ। त्यो आगो कसले लगायो, त्यसको जिम्मा कसले लिन्छ?” मेयर अधिकारीले प्रश्न गर्दै भने, “म सामन्ती होइन, जनता मेरो परिवार हुन्। जब म प्रधानपञ्च थिएँ, मैले सबैलाई दामाशाही रूपमा जग्गा बाँडेँ।” उनले आफूविरुद्ध लगाइएका विभिन्न आरोपप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “आज म मेयर हुँ, तर मेरो शुद्ध काममाथि पनि आरोपको भारी थोपारिएको छ। जसले प्रमाणसहित आरोप पुष्टि गर्न सक्छ, म कानूनी रूपमा सामना गर्न तयार छु।”
मेयर अधिकारीले जेन्जी आन्दोलनका घटनाबारे उल्लेख गर्दै समाजमा विभाजनको मनोविज्ञान समाप्त गर्न सबैलाई एकताको सन्देश पनि दिएका थिए।
कार्यक्रममा साराय नाचका कलाकारहरूले परम्परागत भेषभूषा र वाद्यवादनसहित प्रस्तुति दिए। नाचमा गाउँले जीवनशैली, सामूहिक श्रम र दशैंको उमङ्ग झल्किएको थियो। समाजका अध्यक्ष गोविन्द घिमिरेको सभापतित्व एवं कार्यक्रम संयोजक ईश्वरी प्रसाद घिमिरेको सहजीकरणमा भएको शुभकामना आदानप्रदान एवं सराह नृत्य प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूले नाचको प्रस्तुति ताली बजाएर स्वागत गरेका थिए। समाजकी उपाध्यक्ष विष्णु पन्थीले स्वागत मन्तव्य दिएको कार्यक्रममा संस्थाका पदाधिकारीहरूले सराय नाचजस्ता सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामा संरक्षण र प्रसार प्रचार गर्न निरन्तर कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन्।