गैंडाकोट, कार्तिक ८ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माणाधीन ‘ओली निवास’मा कुनै पनि किसिमको चन्दा नउठाइने स्पष्टिकरण पार्टीका नेता महेश बस्नेतले दिइरहेका बेला गैंडाकोट नगर समितिले भने १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
गुण्डुबासीहरूको साझा भावना र सम्मानका रूपमा ‘गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट’ निर्माण हुँदै गरेको ओली निवासबारे नेता बस्नेतले “चन्दा उठाउने कुनै योजना छैन, यो हाम्रो आत्मीयता र स्नेहको प्रतीक हो” भन्दै मिडियामा आएका समाचार असत्य भएको बताएका थिए।
तर, त्यहीबीच गैंडाकोट नगर समितिको निर्णय सार्वजनिक भएपछि ‘चन्दा उठाइँदैन’ भन्ने भनाइ र सहयोगको घोषणा बीच विरोधाभास देखिएको छ। स्थानीय स्तरमा केही कार्यकर्ताले यसलाई ओलीप्रतिको भावनात्मक समर्थनका रूपमा व्याख्या गरे पनि, आलोचकहरूले भने यसलाई “आफ्नै निर्णय र व्यवहारबीच असंगति” भएको टिप्पणी गरेका छन्।







