गैंडाकोट मङ्सिर १४ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका-१८ स्थित श्री बिरेन्द्र आधारभूत विद्यालय परिसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवाको पहुँच कम रहेको वसेनी, डोडे र हात्तीसाल क्षेत्रका स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा १२० जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रमेश पौडेल, बालरोग विशेषज्ञ डा. बद्री सापकोटा र जनरल फिजिसियन डा. भुवन पौडेलसहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै उच्च रक्तचाप, मधुमेह परीक्षण तथा निशुल्क औषधि वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रम गण्डकी सहकारीका अध्यक्ष गोविन्द सुबेदीको अध्यक्षता र गैँडाकोट-१८ का वडा सदस्य कर्णबहादुर माकिमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सल्लाहकार संयोजक पोषणराज सुबेदी, सल्लाहकार शान्ति सापकोटा, सचिव केशवराज शर्मा, कोषाध्यक्ष एवं स्वास्थ्य उप-समिति संयोजक शकुन्तला न्यौपाने, सञ्चालक सदस्य विष्णु पौडेल, स्वास्थ्य उप-समितिका सदस्य टुकराम सुबेदी, हिरामणी शर्मा, उमा आचार्य, नवल सेवा केन्द्र व्यवस्थापन उप-समितिका सदस्य इन्द्रप्रसाद कंडेल, समाजसेवी गुप्तप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सारु, बसेनी टोल विकास संस्थाका अध्यक्ष प्रशुराम आले, विद्यालयका शिक्षक तथा महिला स्वयंसेविकाको सहभागिता थियो।
कार्यक्रमको अन्त्यमा स्वास्थ्य सेवामा सहयोग गर्ने चिकित्सक, प्राविधिक तथा औषधि उपलब्ध गराउने औषधि विक्रेता तथा कम्पनीलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो।
गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल १७ हजारभन्दा बढी सदस्य, १ अर्ब १२ करोड वसुली, ७ सेवा केन्द्र र ३६ जना कर्मचारी कार्यरत रहेको छ। सहकारीले प्रत्येक वर्ष सामुदायिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।







