गैंडाकोट, मङ्सिर १८। नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिका-४ स्थित दीपेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार सम्पन्न बृहत विशेष स्वास्थ्य शिविर भव्य तथा सफल रूपमा सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता तथा नवलपुर क्षेत्र नं.-२ का निवर्तमान प्रतिनिधिसभा सदस्य विष्णु कुमार कार्की प्रमुख अतिथि रहेको स्वास्थ्य शिविर कार्यक्रममा लक्ष्मण बहादुर पाण्डे विशेष अतिथि रहेका थिए । स्वास्थ्य शिविरमा स्थानीय जनप्रतिनिधि, सामाजिक, शैक्षिक तथा राजनीतिज्ञ हरूको उपस्थिति रहेको थियो ।
शिविरका सभापति तथा उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले कार्यक्रममा बोल्दै स्थानीय समुदायलाई प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले सङ्घले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए, उनले स्वास्थ्य सेवा पहुँच बाहिर रहेका नागरिकलाई विशेषज्ञको सेवा गाउँमै उपलब्ध गराउनु नै हाम्रो मूल उद्देश्य रहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू अगाडि बढाउने बताए ।
शिविरमा करिब ६०० जना स्थानीयले स्वास्थ्य परीक्षण सेवाको लाभ लिएको स्वास्थ्य शिविरलाई चितवन मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग गरेको थियो । शिविरलाई जागृति स्वास्थ्य आमा समूह, तीनकन्या युवा क्लब, दीपेन्द्र मावि, सर्दी बजार व्यवस्थापन समिति, सचेतना महिला समूह सर्दी लगायतका स्थानीय संस्थाहरूले सहजीकरण तथा सहयोग प्रदान गरेका थिए।








