नवलपुर विद्युतमा पुन:भुषाल फर्किए 

नवलपुर, पौष ६ नवलपुर विद्युत व्यवसायी संघको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

 

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अग्रवालले विद्युतीय व्यवसायीहरू पछिल्लो समय विभिन्न चुनौतीका बीच व्यवसाय सञ्चालन गर्न बाध्य रहेको उल्लेख गरे। उनले व्यवसायीहरूको व्यावसायिक हक-हित संरक्षणका लागि महासंघले नीति सुधार, सीपमूलक तालिम, बीमा व्यवस्था तथा बजार व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिए। विद्युतीय सामग्रीको गुणस्तर कायम राख्ने, मूल्य स्थिरता, अवैध आयात नियन्त्रण तथा व्यवसायीको पेशागत सुरक्षाका विषयमा महासङ्घ सरकारसँग निरन्तर संवादमा रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष गोपाल अग्रवाल, द्वितीय उपाध्यक्ष लेखनाथ सापकोटा, तृतीय उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे, महासचिव शंकर देवकोटा, सचिव लोकनाथ पोखरेल, कोषाध्यक्ष राजेश गौतम, प्रेमबहादुर जिसीलगायत देशभरका जिल्ला तथा नगर संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

साधारण सभासँगै नवलपुर जिल्ला विद्युत व्यवसायी संघको नयाँ कार्यसमिति गठन गरिएको छ। पुरुषोत्तम भुसालको अध्यक्षतामा गठन भएको १५ सदस्यीय कार्यसमितिमा प्रथम उपाध्यक्ष गणेश सुवेदी, द्वितीय उपाध्यक्ष नवराज पौडेल, तृतीय उपाध्यक्ष दीपक सुवेदी, सचिव ध्रुव न्यौपाने, कोषाध्यक्ष नवराज बास्तोला, सहसचिव गणेश रिजाल र सह–कोषाध्यक्ष गिरिराज महत्तो चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा केशव गिरी, कृष्ण सापकोटा, पतिराम सोती, टंकप्रसाद सापकोटा, नरबहादुर कुमाल, कृष्ण पराजुली र रिता सुवेदी रहेका छन्। पाँचौँ साधारण सभा संघका प्रथम उपाध्यक्ष गणेश सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव दीपक सुवेदीले सचिव प्रतिवेदन तथा कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा संघका कोषाध्यक्ष नवराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सभा सञ्चालन संघका अध्यक्ष सुजन अधिकारीले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको