चुनावको मुखमा दल परिवर्तन, गैँडाकोटको राजनीतिमा शक्ति सन्तुलन हल्लियो

गैंडाकोट, माघ २६ । नवलपुरको गैँडाकोटको स्थानीय राजनीतिमा ठूलो तरंग पैदा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गैँडाकोट केन्द्रित प्रभावशाली नेता करुणा सागर सुवेदी र ललित श्रेष्ठ नेपाली काँग्रेसमा पुनः प्रवेश गरेसँगै राजनीतिक वातावरण तातेको हो ।

 

 

लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सुवेदी र श्रेष्ठ केही समयअघि रास्वपामा आबद्ध भएका थिए । तर निर्वाचनको मुखमै काँग्रेसमा फर्किनुलाई गैँडाकोटको राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।

गैँडाकोटस्थित वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुवेदी र श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा स्थानीय तहका काँग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अनुभवी नेताहरू पुनः पार्टीको मूल धारमा फर्किएकोमा काँग्रेसजन उत्साहित देखिएका छन् ।

यस घटनाले गैँडाकोटमा पछिल्लो समय रास्वपाले बनाउँदै आएको संगठन र मताधारमा गम्भीर धक्का पुग्ने आँकलन गरिएको छ । विशेषगरी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भएको यो राजनीतिक परिवर्तनले काँग्रेसलाई स्थानीय रूपमा थप मजबुत बनाउने र रास्वपाको प्रभाव कमजोर पार्ने विश्लेषकहरूको भनाइ छ ।

सुवेदी र श्रेष्ठको राजनीतिक पकड, संगठनात्मक अनुभव तथा व्यक्तिगत सम्बन्धले गैँडाकोटका टोल-टोलसम्म प्रभाव पार्ने सम्भावना रहेको बताइन्छ । गैँडाकोटबाट सुरु भएको यो राजनीतिक हलचलले नवलपुर जिल्लाभरि नै असर पार्ने देखिएको छ । आगामी दिनमा अन्य नेताहरूको समेत राजनीतिक धार परिवर्तन हुन सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा चुलिँदै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको