गैंडाकोट, माघ २७ । सहकारी संस्थाहरूलाई कानुनी रूपमा सबल, प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित विनयी त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालयले विशेष पहल थालेको छ। सोही क्रममा “बचत तथा ऋण सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण” विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ लि.का अध्यक्ष तिलक प्रसाद पराजुली, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपाल तथा जिल्ला सहकारी संघका सचिव श्यामसुन्दर लामिछानेको उपस्थिति रहेको थियो।
त्यसैगरी सहकारी समन्वय मञ्चकी अध्यक्ष रेखा अधिकारी र जिल्ला बचत संघकी सञ्चालक सीता गहतराजले समेत कार्यक्रममा अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो।
कार्यक्रममा सहकारी अधिकृत यमप्रसाद शर्मा र नेपाल राष्ट्रिय सहकारी बैंक (एनसीबीएल) का प्रबन्धक धर्मा भुजेलले सहकारीहरूको दर्ता, अभिलेखीकरण तथा प्रणालीगत व्यवस्थापनसम्बन्धी प्राविधिक प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा सहकारीहरूको अनिवार्य दर्ता, ‘कोपोमिस’ (COPOMIS) प्रणालीको कार्यान्वयन, वित्तीय अनुशासन, ऋण असुली प्रक्रिया र ‘एक व्यक्ति, एक सहकारी’ नीतिको प्रभावकारी पालना गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले सहकारीहरू स्थानीय आर्थिक विकासका मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले विनयी त्रिवेणीलाई सहकारीमैत्री पालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमन र सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले कानुनी जटिलता बुझ्न र प्रविधिमैत्री व्यवस्थापनतर्फ अघि बढ्न कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याएको प्रतिक्रिया दिएका छन्।







