गैंडाकोट, भाद्र ३० ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक प्रसाद गैरेले हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीको राहतका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले उक्त रकम एनआरएनएमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा हस्तान्तरण गरेका हुन्।
विगत दुई दशकदेखि पोर्चुगलमा बसेर कृषि व्यवसाय गर्दै आएका नवलपुर गैंडाकोटका गैरे सन् २००७ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय छन्। व्यावसायिक व्यस्तताका बाबजुद प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने र मातृभूमिमा विपद् पर्दा सहयोगको हात फैलाउने कार्यमा उनी अग्रपंक्तिमा रहँदै आएका छन्।
नेपालमा प्राकृतिक विपत्तिले पुर्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भने, “विदेशमा कमाएको सफलता र अवसरको केही हिस्सा मातृभूमिको पीडामा मलम लगाउन प्रयोग गर्नु हाम्रो दायित्व हो।”
विपदका बेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता र एकताको भावनाका साथ पीडितको साथमा उभिनुपर्नेमा उनले जोड दिएका छन्। गैरेको यो सहयोगले भौगोलिक दूरीले नेपाल र प्रवासी नेपालीबीचको भावनात्मक सम्बन्धलाई कहिल्यै छेक्न सक्दैन भन्ने बलियो सन्देश दिएको छ।







