बीमाको नयाँ नियम भरतपुर अस्पताल र आँखा अस्पताल प्रथम सेवा विन्दुबाट हट्यो

चितवन, असार ३२ । देशकै सबैभन्दा बढी स्वास्थ्य बीमा मार्फत बिरामीलाई सेवा दिँदै आएको चितवनको भरतपुर अस्पताल र भरतपुर आँखा अस्पताल स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट हटेको छ ।

 

स्वास्थ्य बीमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो । भरतपुर अस्पताललाई प्रथम विन्दु मानेर उपचार गराउने बिरामीले साउन १ गतेदेखि प्रथम विन्दु तोकिएका स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्ने भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

 

उनका अनुसार यस अस्पतालले अब स्वास्थ्य बीमाका रेफरल बिरामी मात्र हेर्नेछ । ‘हामी संघिय अस्पतालमा पर्दछौँ । बीमा बोर्डले असार २९ गते विज्ञप्ती लेखेर संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ,’ उनले भने ‘साउनदेखि प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्दैनौँ ।’

 

भरतपुर अस्पताललाई प्रथम विन्दु मानेका सेवाग्राहीको संख्या ठुलो संख्यामा रहेको छ । यहाँबाट सात जिल्लाका बिरामीले बीमाको सेवा लिँदै आएका थिए । अब अन्य अस्पतालबाट रिफरल लिएर आउँदा बिरामीलाई समस्या पर्ने अस्पतालका बीमा शाखा प्रमुख लिलाधर पौडेलले बताए ।

 

‘हामीकहाँ दैनिक पन्ध्रसयको हाराहारीमा बीमाका बिरामी आउनुहुन्छ । उहाँहरुमध्ये अधिकांश प्रथम सेवा विन्दु भएका हुनुहुन्छ,’ उनले भने ‘बीमा बोर्डको निर्णयले भरतपर अस्पतालबाट सेवा लिएका सेवाग्राहीलाई समस्या हुने प्रष्ट देखिन्छ ।’ प्रथम सेवा विन्दु तोकिएका अस्पतालमा बीमामा तोकिएका अधिकांश सेवा छैनन् । सहज उपचारका लागि अधिकांश विरामीको प्रमुख रोजाई भरतपुर अस्पताल बनेको थियो । भरतपुर अस्पतालमा रिफरल लिएर आउँदा बिरामीलाई दोहोरो सास्ती हुने पौडेलको बुझाई छ ।

 

‘भरतपुरको विरामी रिफरल लिनको लागि कम्तिमा पनि शिवनगर, बकुलहर अस्पताल पुग्नुपर्दछ,’ उनले भने ‘घर नजिकैबाट सेवा लिएका बिरामी टाढाको अन्य अस्पतालबाट सेवा लिनुपर्ने हुन्छ ।’ चितवनमा छ लाख बढीले बीमा गरेका छन् । उनीहरुमध्ये अधिकांश भरतपुर अस्पताललाई प्रथम विन्दु बनाएको पौडेलले जानकारी दिए । भरतपुर अस्पतालमा २०७४को भदौ महिनाबाट स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन भएको थियो ।

 

चितवनका भण्डारा अस्पताल, इच्छाकामना आधारभूत अस्पताल, बघौडा अस्पताल, खैरहनी नगर अस्पताल, कालिका नगर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र बकुलहर रत्ननगर अस्पताललाई मात्रै प्रथम सेवा विन्दु तोकिएको छ । प्रथम विन्दु तोकिएको जुनसुकै सरकारी अस्पतालबाट सेवा लिन भने सकिने व्यवस्था स्वास्थ्य बीमा बोर्डले गरेको छ ।

 

स्वास्थ्य बीमा ऐन, २०७४ (पहिलो संशोधन २(७) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहनुपर्ने व्यवस्था छ । सोही कानुनमा सङ्घीय, विशेषज्ञ अस्पताल तथा निजी प्रतिष्ठानहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नरहेकाले सेवाग्राहीहरू आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपरेको विज्ञप्ती मार्फत बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विवेक मल्लले जानकारी दिएका छन् ।

 

कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने स्वास्थ्य संस्थाको पहिचान गर्न र प्रथम सेवा विन्दुका लागि अपुग मापदण्ड पूरा गर्न लाग्न लागिएको बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विवेक मल्लले जानकारी दिए । चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विशिष्टीकृत र भरतपुर अस्पताललाई संघिय अस्पतालको रुपमा सञ्चालित छन् । यस्तै भरतपुर आँखा अस्पताल प्रतिष्ठानद्धारा सञ्चालित अस्पताल हो । यी तीनै वटा अस्पतालले अब बीमा रकमबाट रेफरल विरामी मात्र हेर्नेछन् । नेपाल सरकारले पाँच जनाको परिवारलाई वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिरेर एक लाख रुपैयाँसम्मको सेवा लिन पाउँछन् । त्यसभन्दा माथि प्रतिव्यक्ति सात सय रुपैयाँ तिरेर दश जनासम्मको परिवारले २ लाख रुपैयाँसम्मको सेवा लिन पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको