गैँडाकोट, श्रावण १० । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले यस वर्षको साहित्य पुरस्कार नवलपुर बर्दघाटका कवि तथा गीतकार श्यामराज रानाभाटलाई प्रदान गरेको छ।
संघले कतारमा सम्पन्न एघारौँ राष्ट्रिय अधिवेशनको अवसरमा रानाभाटलाई सम्मानित गरेको हो। नेपाली साहित्य तथा गीतसङ्गीतको क्षेत्रमा उनको निरन्तर योगदान, सिर्जनात्मकता र सामाजिक सन्देशले भरिएका काव्य तथा गीतहरूलाई उच्च मूल्याङ्कन गर्दै संघले पुरस्कार दिएको जनाइएको छ।
श्यामराज रानाभाट गीत, गजल र कवितामार्फत समाजका विविध यथार्थ र अनुभूतिहरू प्रस्तुत गर्ने सशक्त श्रष्टाका रूपमा परिचित छन्। उनका गीत एल्बमहरूले माया प्रेम र जनजीवनसँग घनिष्ट सम्बन्ध राख्ने गरेका छन्।
संघले प्रवासमा रहेका नेपालीहरूका बीच साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि हरेक वर्ष यस्तो पुरस्कार प्रदान गर्दै आएको छ।








