
गैंडाकोट, ३ कात्तिक। जीवनका विविध भावनात्मक उतारचढाव र समाजका समसामयिक यथार्थलाई कविता मार्फत अभिव्यक्त गर्ने कवि मेनका चापागाईं काप्रीको पहिलो कवितासङ्ग्रह ‘मनको अदालत’ लोकार्पण गरिएको छ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार सम्पन्न ११७औँ लक्ष्मी जयन्ती विशेष समारोहको अवसरमा नगर प्रमुख मदनभक्त अधिकारी, प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी र कविका मातापिताले संयुक्त रूपमा कृति विमोचन गरे ।
कार्यक्रममा प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले सङ्ग्रहमाथि समीक्षा प्रस्तुत गर्दै कविताहरूले समसामयिक विषयवस्तु, महिला संवेदना र सामाजिक चेतनालाई कलात्मक ढङ्गले उजिल्याएको मूल्याङ्कन गरे। समीक्षकहरूका अनुसार ‘मनको अदालत’ कविको आत्मस्वीकृति र अन्तर्मनको यात्रा हो, जसमा यथार्थ र भावनाको समिश्रण देखिन्छ।
६९ वटा कविताहरू समेटिएको यो कृति कवि चापागाईंको वर्षौँको लेखन यात्राको पहिलो संकलित रूप हो। कविको भनाइमा, “कोरोनाकालले मलाई लेखनमा गहिरो एकान्त र सोचको अवसर दियो। कविता मेरो आत्मसंवादको माध्यम हो।”
साहित्यिक वातावरण झल्काउने उक्त समारोहमा डा. भूमिराज चापागाईंले कविको परिचय गराउँदै मेनका चापागाईं सृजनामा प्रगाढ समर्पण राख्ने स्रष्टा भएको उल्लेख गरे । त्यस्तै, उप-प्राध्यापक रमेश प्रभातले शुभकामना मन्तव्य दिँदै “चापागाईंका कवितामा भाषिक निखार र संवेदनाको तिखोपन स्पष्ट देखिन्छ,” भने।
कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले कवितासङ्ग्रहका चयनित कविता वाचन गरेर वातावरणलाई काव्यमय बनाए। गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तकको मूल्य रु. ३५१ निर्धारण गरिएको छ।
कार्यक्रमको प्रारम्भिक सत्रमा कवि मनोज भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानमाथि विमर्श गर्दै देवकोटाका केही श्लोक वाचन गरेका थिए।
समारोहमा उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए भने लेखराम सापकोटाले सञ्चालन जिम्मेवारी वहन गरेका थिए। ‘मनको अदालत’ कवितासङ्ग्रहको लोकार्पणसँगै कवि चापागाईंले नेपाली कविताक्षेत्रमा नयाँ स्वर र संवेदना थपेकी छिन् – भावनालाई साक्षी बनाउने ‘मनको अदालत’ अब पाठकका हातमा पुगेको छ।