नवलपुर जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको प्रारम्भिक सभा सम्पन्न, नयाँ संचालक समिति गठन

गैंडाकोट, मङ्सिर १९ । नवलपुर जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको शुक्रबार कावासोतीमा प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाबाट जिल्लाका लागि जिल्ला संचालक समिति गठन भएको हो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष अमरबहादुर कुँवर प्रमुख अतिथि रहेकाे सभामा श्यामसुन्दर लामिछाने संयोजक रहने गरी प्रेमलाल खरेल र कोपिला भण्डारीसहित तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। उक्त मण्डलमार्फत रुद्रप्रसाद सुवेदीको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा सीतादेवी गैरे, सचिवमा निर्मला न्यौपाने, कोषाध्यक्षमा बिनिता डुम्रे तथा सदस्यहरूमा प्रेमराज ढुङ्गाना र सीता सुवेदी रहेका छन्।

साविक नवलपरासी जिल्ला टुक्रिएसँगै नवलपुर जिल्लामा संघको संरचना औपचारिक रूपमा गठन भएको हो। सभामा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका केन्द्रीय उपाध्यक्ष भागीरथ तिमल्सिना, जिल्ला सहकारी सङ्घ लिमिटेड नवलपरासीका अध्यक्ष तिलक प्रसाद पराजुली, चितवन दुग्ध उत्पादन सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगाले, भेटेनरी अस्पताल प्रमुख शर्मिला कुमाल, जिल्ला सहकारी सङ्घ लिमिटेड नवलपरासीका सचिव श्यामसुन्दर लामिछानेलगायतका विशेष अतिथिको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तावित कार्ययोजना तथा बजेटसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। समिति गठन भएसँगै नयाँ कार्यसमितिलाई शुभकामना दिँदै दुग्ध उत्पादक सहकारीहरूबीच समन्वय गर्दै उत्पादन वृद्धि र सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा वक्ताहरूले जोड दिए।

सोही सभाले हरिप्रसाद काफ्लेको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति समेत गठन गरेको छ जसको सदस्यहरूमा दानबहादुर केसी र सीता चापागाई रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको