गैंडाकोट, मङ्सिर २० । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुरको आयोजनामा शनिबार गैंडाकोटमा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ। साहित्य, कला र वाङ्मय क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई समर्पित उक्त कार्यक्रममा विभिन्न श्रेणीका प्रतिष्ठित पुरस्कारहरू प्रदान गरिएको थियो।
यस वर्षको सूर्यभक्त-पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिएको हो। उक्त पुरस्कारको राशि रु. ३३,३३३ रहेको छ। त्यस्तै त्रिवेणी गोराबी कला पुरस्कार चितवनका चित्रकार लालकाजी लामा लाई प्रदान गरियो, जसको राशि समेत रु. २५,००० नै तोकिएको थियो। साथै त्रिवेणी होमनाथ-भगवती कला-वाङ्मय पुरस्कार पोखराका वरिष्ठ चित्रकार गोपाल श्रेष्ठ लाई प्रदान गरिएको छ। सो पुरस्कारको राशि रु. १५,००० रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै साहित्य, कला र संस्कृति राष्ट्रको पहचान निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताए। उनले “कलाकार र साहित्यकार समाजका वास्तविक मार्गदर्शक हुन्, तिनको योगदानलाई संस्थागत रूपमा सम्मान र संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको बताउँदै आफ्ना अभिभावक सूर्यभक्त अधिकारी र पतनादेवी अधिकारीको स्मृतिमा आफूले नै स्थापना गरिएको पुरस्कार आगामी लाई आगामी वर्षहरूमा अझ प्रभावकारी रूपमा अघि बढाइनुपर्ने धारणा व्यक्त गरे।
विशेष अतिथिका रूपमा उपस्थित गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला ले सम्मानित स्रष्टाहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै नगरपालिकाले साहित्य-संस्कृति तथा कला विकासका कार्यक्रमहरूलाई प्राथमिकतासहित अघि बढाइने बताइन्। उनले वाङ्मय, कला र सिर्जनशीलतामा लगानी गर्नु भनेको भविष्यका पुस्ताको चेतना निर्माणमा लगानी गर्नु हो,भन्दै स्थानीय तहले स्रष्टा-मैत्री वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन्।
प्रतिष्ठानका उपाध्यक्ष भीम शर्मा ले सम्मानित तीनै स्रष्टाका कृतित्व र योगदानबारे विस्तृत परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा गोविन्दराज विनोदी, रामहरि श्रेष्ठ, डा. गंगाधर अधिकारी, लकास पौडेल, होमनाथ सापकोटा, डा. मतिप्रसाद ढकाल, धनराज गिरी, उदयनाथ रेग्मी, रोशन भक्त अधिकारी, एकनारायण पौडेल, टंकराज ढकाल, भगवती सापकोटा, विष्णु पन्थी, बालकृष्ण थपलिया, केशवराज चालिसे, दीपक सुवेदी, सदानन्द अभागी, शरदचन्द्र पण्डित, शालिकराम सापकोटा, बाबुराम पाण्डे लगायत साहित्य-कला क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रतिष्ठानका सचिव भूमि पौडेलले सहजीकरण गरेका थिए।









