गैंडाकोट, मङ्सिर २४ । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाले भाद्र २३ गतेको दमन-ह’त्या र २४ गतेका ध्वंसक घटनाका जिम्मेवारहरूलाई कारबाही गर्नुपर्ने मागसहित नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पाटनका पूर्व न्यायाधीश ऋषिराम अधिकारीले समसामयिक मानव अधिकारको अवस्थाबारे धारणा राख्दै राज्यको दायित्व, प्रत्याभूति तथा नागरिकको सुरक्षा सुनिश्चित कसरी हुने भन्ने विषयमा जोड दिए। उनले भने, मानव अधिकार दिवसको सन्देश त्यतिबेलामात्र सार्थक हुन्छ जब राज्यका अंगहरूले घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिई निष्पक्ष छानबिन र कारबाही सुनिश्चित गर्छन्। साथै उनले पछिल्ला राजनीतिक, सामाजिक तथा प्रशासनिक चुनौतीहरूलाई सम्बोधन गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।
कार्यक्रमका विशेष अतिथि कावासोती नगरपालिका-३ का वडाध्यक्ष डोरमान गिरीले स्थानीय तहले मानव अधिकारमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे। सोही अवसरमा अतिथि सुरेन्द्रराज अधिकारी, बेलनाथ अधिकारी, गङ्गा थापा लगायतले मानव अधिकार संरक्षण, राज्य संयन्त्रको जवाफदेहिता तथा नागरिक सचेतनासम्बन्धी विचार व्यक्त गरे।
कार्यक्रम नवलपुर जिल्ला सभापति कमल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। सभापति शर्माले आफ्नो संक्षिप्त मन्तव्यमा भने, भाद्र २३ र २४ का घटनाले हाम्रो अधिकार र न्याय प्रणालीप्रति प्रश्न उठाएको छ। जिम्मेवार पहिचान गरी कानुनी प्रक्रियाबाट कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको तर्क थियो। नागरिक संवाद कार्यक्रममा कानुन/न्याय,मानव अधिकारकर्मी, जेन्जी युवा,जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,शिक्षक, विद्यार्थी,संचारकर्मी,स्थानीय प्रशासन, सुरक्षाकर्मीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
पूर्व केन्द्रीय सदस्य देवेन्द्रराज भट्टराईले अवधारणापत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य सुजन अधिकारीले प्रस्तुत गरेका थिए। नागरिक संवाद कार्यक्रमको सहजीकरण पूर्व केन्द्रीय सचिव तथा शाखा सभापति श्यामसुन्दर पराजुलीले गरेका थिए।







