गैंडाकोट, मङ्सिर २९ । गैंडाकोट नगरपालिकामा रहेको मातृभूमि टोल विकास संस्थाले शोक परेका परिवारलाई अनावश्यक बोझ थप्ने परम्परागत अभ्यासलाई तोड्दै सहयोगलाई व्यवहारिक र मानवीय बनाउने उदाहरणीय पहल गरेको छ। संस्थाले मृतकका घरमा खाद्यान्न, फलफूल तथा प्रयोगविहीन फोटो फ्रेम लैजाने परम्पराको सट्टा नगद सहयोग गर्ने व्यवस्था लागू गरेको हो।
शोकको घडीमा औपचारिक शोकसभा, आसन ग्रहण भाषण र देखावटी सामग्रीभन्दा प्रत्यक्ष सहयोग आवश्यक पर्ने भन्दै यो अभ्यास सुरु गरिएको मातृभूमि टोल विकास संस्थाकी अध्यक्ष बिन्दु लामिछानेले जानकारी दिइन्। उनका अनुसार १३ दिनसम्म गरिने परम्परागत काजक्रियामा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले नगद सहयोगलाई प्राथमिकता दिइएको बताउँदै यसले मृतक परिवारलाई तत्काल आवश्यक सहयोग पुग्नुका साथै समाजमा सकारात्मक सोचको विकास हुन्छ उनले भनिन् ।
संस्थाको यस निर्णयले शोकको समयमा हुने अनावश्यक खर्च, देखासिकी र सामग्रीको दुरुपयोग कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले पनि यस पहललाई समयसापेक्ष, व्यावहारिक र अनुकरणीय कदमका रूपमा स्वागत गरेका छन्। मातृभूमि टोल विकास संस्थाको यो अभ्यासले शोक संस्कारलाई सहयोगमुखी बनाउँदै समाजलाई मानवीय, संवेदनशील र जिम्मेवार दिशातर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ।







