वडाध्यक्ष प्रकाशको घोषणा क्षेत्रीय सभापति मा उम्मेदवारी घोषणा

गैडाकोट, पौष ५ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) को सभापति पदका लागि गैडाकोट–२ का वडा अध्यक्ष प्रकाश सापकोटाले उम्मेदवारी घोषणा गरेका छन्।

शनिवार बिहान गैडाकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत सापकोटाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै संगठनलाई जितमुखी बनाउने स्पष्ट दाबी प्रस्तुत गरेका हुन्। उनले आफू पदको आकांक्षाका कारण होइन, पार्टीको आवश्यकताका कारण मैदानमा उत्रिएको बताए।

पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले नेपाली कांग्रेस केवल चुनाव जित्ने संस्था नभई बी.पी. कोइरालाको विचार, गणेशमान सिंहको निडरता, कृष्णप्रसाद भट्टराईको नैतिकता र जी.पी. कोइरालाको दृढ नेतृत्वको निरन्तरता भएको पार्टी भएको उल्लेख गरे। “आज कांग्रेसलाई ती सबै गुण एकै नेतृत्वमा आवश्यक छ,” उनले भने।

प्रदेश सभा क्षेत्र नं. १ (क) को संगठनात्मक अवस्थाप्रति टिप्पणी गर्दै उनले कार्यकर्ता हुँदाहुँदै संगठन कमजोर हुनुको कारण सही समयमा सही नेतृत्वको अभाव रहेको दाबी गरे। आफू वडा अध्यक्षमा सीमित नेता नभई दलित, जनजाति, युवा, खेलकुदलगायत सबै क्षेत्रसँग निरन्तर सम्बन्ध र सहभागिता रहेको उनको भनाइ थियो।

सापकोटाले पार्टीले जित्न नसकेको कठिन क्षेत्रमा जिम्मेवारी पाउँदा ऐतिहासिक मतका साथ विजयी भएको स्मरण गराउँदै सो अनुभव नै आफ्नो सबैभन्दा ठूलो योग्यता भएको बताए। “सबैभन्दा कठिन क्षेत्रमा पार्टीलाई जिताउन सक्ने व्यक्तिले संगठनलाई पनि जिततर्फ डोर्‍याउन सक्छ,” उनले दाबी गरे।

३५ वर्षमुनिको युवा नेता भए पनि अनुभव, जोखिम लिन सक्ने क्षमता र परिवर्तन बुझ्ने चेतना आफूमा रहेको बताउँदै उनले कांग्रेसलाई परम्परागत मतदातामात्र होइन, अन्य पार्टीका ‘स्विङ भोट’समेत आकर्षित गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राखे।

पत्रकार सम्मेलनमा सापकोटाले अन्य उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै भने, “सबै असल व्यक्ति सबै पदका लागि उपयुक्त हुँदैनन्। आज कांग्रेसलाई नयाँ प्रयोग होइन, परीक्षण भइसकेको नेतृत्व चाहिएको छ।”

उनले प्रतिनिधिहरूलाई व्यक्ति नभई जित्ने क्षमता रोज्न आग्रह गर्दै आफ्नो उम्मेदवारी पार्टीको भविष्य र संगठनको एकताका लागि भएको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको