गैंडाकोट, पौष १०। गैंडाकोट नगरपालिकाको वडा नं. ५ स्थित बैकुण्ठ मार्ग टोल विकास संस्थाको आयोजनामा वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम गैंडाकोट नगरपालिका वडा नं. ९, थुम्सीस्थित गुम्बा परिसरमा आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भिम के.सी. ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गैंडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य तथा कार्यबहाक वडा अध्यक्ष शान्ती न्यौपानेको उपस्थिति रहेको थियो।
संस्थाकी सचिव सरस्वती सापकोटाले सहजीकरण गरेको उक्त कार्यक्रममा कार्यक्रममा सुनौलो महिला समूहकी अध्यक्ष शारदा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्। साथै, बाल क्लबका अध्यक्ष रिजन पौडेलले बालबालिकाको भूमिका र सहभागिताबारे आफ्ना धारणा राखेका थिए। साधारण सभामा संस्थाका तर्फबाट जंगबहादुर कार्कीले वार्षिक कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेको सो सभालाई महिला समूहकी सचिव कविता शर्मा पौडेलले सचिव प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे जानकारी दिएकी थिइन् । सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै वडा सदस्य द्रोण वन सन्यासीले टोल विकास संस्थाले स्थानीय तहमा सामाजिक एकता, सहकार्य र विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।
प्रमुख अतिथि शान्ती न्यौपानेले मन्तव्यका क्रममा महिलाको सम्मान र सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै टोल विकास संस्थाले महिला, बालबालिका तथा समुदायलाई समेट्दै गरेका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै यस्ता संस्थागत प्रयासहरूले समाजलाई सही दिशातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिन् ।
सभा सम्पन्न भएसँगै सहभागीहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बनभोज कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले सभामा बताएका थिए।










