गैंडाकोट, पौष ८ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना, नेपाल नेत्रज्योती संघ तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गैंडाकोट नगरपालिका वडा नं. १४ को सहकार्यमा निशुल्क आँखा तथा स्वास्थ्य शिविर मङ्गलबार सम्पन्न भएको छ।
वडा नं. १४ स्थित आधारभूत स्वास्थ्य कार्यालयमा सम्पन्न शिविरमा २२१ जनाको आँखा परीक्षण र १५० जनाको स्वास्थ्य परीक्षण गरी कुल ३७१ जनालाई सेवा प्रदान गरिएको थियो। शिविरबाट मोतियाबिन्दु पहिचान भएका १६ जनालाई निशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ।
डा. रोशन सुबेदी र भरतपुर आँखा अस्पतालका आयुष पौडेलको नेतृत्वमा रहेको प्राविधिक टोलीले परीक्षण गरेको शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द सुबेदीको अध्यक्षता तथा वडा नं. १४ का वडाध्यक्ष कोकिसरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वडाध्यक्ष रानाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
गैंडाकोटलाई कार्यक्षेत्र बनाएको गण्डकी सहकारीले सामुदायिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा स्वास्थ्य तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।







