देवघाट (तनहुँ), पुस ९ । नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक तीर्थस्थलमध्ये एक देवघाट क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ। देवघाट क्षेत्र विकास समितिले नारायणी नदी तथा देवघाट क्षेत्रको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व जोगाउने उद्देश्यसहित प्लास्टिक प्रयोग नियन्त्रण गर्ने निर्णय गरेको हो।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै समितिले बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैली तथा सार्वजनिक स्थलमा हुने अतिक्रमणका कारण धार्मिक, सांस्कृतिक, प्राकृतिक र वातावरणीय सम्पदामा चुनौती बढ्दै गएको जनाएको छ।
<span;>सोही सन्दर्भमा मिति २०८२ पुस ११ गते बिहान १० बजे आयोजित विशेष कार्यक्रममा देवघाटधाम क्षेत्रलाई औपचारिक रूपमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिनेछ । घोषणापछि देवघाट क्षेत्रमा एकपटक प्रयोग हुने प्लास्टिक झोला (४० माइक्रोनभन्दा पातला), प्लास्टिकका बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामग्रीको प्रयोग क्रमशः निषेध गरिने जनाइएको छ।
समितिका अनुसार प्लास्टिकको विकल्पका रूपमा जैविक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ। यस अभियानलाई प्रभावकारी बनाउन देवघाट क्षेत्र विकास समिति,सहमति र wwf नेपालको सहकार्य तथा अगुवाइमा भरतपुर महानगरपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका, विभिन्न सामाजिक संस्था, धार्मिक संघसंस्था, स्वयंसेवक, व्यापारी तथा स्थानीय बासिन्दाको सहकार्य रहनेछ।
विज्ञप्तिमा देवघाटधाममा आश्रित साधुसन्त, भक्तजन, पर्यटक, व्यापारी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्लास्टिक प्रयोग नगर्न र अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ। समितिले सबै सरोकारवालाको सहयोगबाट देवघाटधामलाई स्वच्छ, पवित्र र हराभरा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरराज लोहनीले नारायणी नदीको स्वच्छता, देवघाटधामको पवित्रता, सौन्दर्य तथा वातावरणीय सन्तुलन जोगाउन प्लास्टिक निषेध अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।







