गैँडाकोट, पौष १२ । भवानी टोल विकास संस्था गैँडाकोट-५ को नवौँ वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।
गैँडाकोट नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वडा कार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा सदस्यहरू द्रोणवन सन्यासी, तुलसी गौतम, उषा परियार, शैक्षिक व्यक्तित्व शिवशंकर बस्याल, शरदचन्द्र खनाल, निवर्तमान अध्यक्ष पशुपति रिजाललगायतले शुभकामना मन्तव्य राखेको उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष सापकोटाले संस्थाको उन्नति सहभागिता, जवाफदेहिता र पारदर्शितामा निर्भर रहने उल्लेख गर्दै सोहीअनुसार कार्य गर्न निर्देशन दिँदै वडा नम्बर ५ लाई उत्कृष्ट वडाको रूपमा चिनाउन आफू सधैं सक्रिय रहेको र सबै टोलको हितमा निरन्तर काम गर्दै आएको बताए ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष पुष्कल भट्टराईले कोषाध्यक्षको प्रतिवेदन र सचिव ठाकुरकुमारी पौडेलले सचिवको प्रतिवेदन पेश गरेका थिए। उपाध्यक्ष रञ्जिता आचार्यले स्वागत मन्तव्य राखेको सभामा शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
कक्षा नर्सरीदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा कक्षा प्रथम हुने विद्यार्थी, एसईई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै टोलभित्रका उत्कृष्ट कृषक तथा उत्कृष्ट लघु उद्यमीलाई समेत सोही सभामा सम्मान गरिएको थियो।
सोही अवसरमा टोलका शैक्षिक व्यक्तित्व शिवशंकर बस्याल बर्दघाट-९ स्थित राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा तथा शरदचन्द्र खनाल देवघाट-५ स्थित कालिका माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएको अवसरमा बधाईसहित सम्मान गरिएको थियो। टोलमा नयाँ घर निर्माण गरी बसोबास गर्न आएका नवआगन्तुक परिवारलाई पनि सम्मान गरिएको थियो।







