गैंडाकोट, पौष १२ । गैंडाकोट नगरपालिकाको वडा नम्बर ६ को आयोजनामा भूमि समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रम वडा अध्यक्ष सुभाष चापागाईंको अध्यक्षतामा सम्पन्न भएको हो।
भूमि समस्या समाधान आयोग नवलपुरका जिल्ला अध्यक्ष तारापति खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि खरेलले केन्द्रीय तहको नीतिगत अस्थिरताका कारण लालपुर्जा वितरण प्रक्रिया केही ढिलाइ भएको उल्लेख गर्दै पछिल्लो समय प्रक्रिया व्यवस्थित हुँदै गएको बताए।
कार्यक्रममा प्रस्तुत विवरण अनुसार गैंडाकोट नगरपालिकाभित्र जग्गा प्राप्तिका लागि ४ हजार ७ सय ४७ जनाले फारम भरेका छन्। तीमध्ये वडा नम्बर ६ बाट मात्र ४ सय १५ जनाको आवेदन परेको जनाइएको छ।
वडा अध्यक्ष चापागाईंले आफ्नो वडाभित्र रहेका वास्तविक भूमिहीनको पहिचान गरी अधिकार सुनिश्चित गर्न वडा कार्यालय निरन्तर सक्रिय रहेको बताए।
अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला नागरिकहरूको उपस्थिति रहेको थियो।









