गैंडाकोट, पौष १४ । गैंडाकोट नगरपालिका २ स्थित गोपेश्वर महादेव शिवालय मन्दिरद्वारा निर्माण गरिएको धार्मिक तथा पर्यटकीय प्रवेशद्वार (गेट) डोजर प्रयोग गरी भत्काइएको घटनाप्रति मन्दिर समितिले घोर आपत्ति जनाउँदै निन्दा र भर्त्सना गरेको छ।
मन्दिर समितिका अध्यक्ष वेदप्रसाद गौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसअनुसार, पुलचोकदेखि मौलाकालिका मन्दिर तथा दिव्यधाम जोड्ने आन्तरिक सडक खण्डमा धार्मिक भक्तजन तथा दाताको सहयोगमा निर्माण गरिएको कलात्मक प्रवेशद्वार नगरपालिकाको आदेशमा भत्काइएको दाबी गरिएको छ। अध्यक्ष गौडेलले उक्त कार्य एक निजी शैक्षिक संस्थाको स्वार्थमा गरिएको आरोप लगाउँदै गैंडाकोट नगरपालिकाका मेयर, सम्बन्धित वडाध्यक्ष तथा सडक इन्जिनियरको निर्देशनमा साँझको समयमा डोजर प्रयोग गरी प्रवेशद्वार ध्वस्त पारिएको बताएका छन्। घटनाका क्रममा भगवान तथा देवीका मूर्तिमाथि समेत क्षति पुर्याइएको उल्लेख गरिएको छ।
उनले मन्दिर परिवार तथा ‘ॐकार परिवार’लाई दर्शक बनेर नबस्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति तथा दोषीमाथि कस्तो कारबाही हुन्छ भन्ने विषय स्पष्ट हुनुपर्ने माग गरेका छन्। मन्दिर समिती हाल न्यायको प्रतीक्षामा रहेको पनि अध्यक्ष गौडेलले बताएका छन्। उक्त घटनाबारे गैंडाकोट नगरपालिका, वडा कार्यालय तथा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।







