गैँडाकोट, २२ पुस । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालनमा हुने चौथो गैँडाकोट महोत्सव एवम् व्यापार मेला २०८२ को निर्माणस्थलको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निरीक्षण गरेका छन् ।
महोत्सवस्थल निरीक्षण गर्दै प्रजिअ पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धता जनाए । आज मंगलबार महोत्सवस्थलको निरीक्षणपछि आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका पदाधिकारीसँग छलफल गर्दै प्रजिअ पाण्डेले महोत्सवको भित्री र बाहिर सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिदिने बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी महोत्सवलाई सुरक्षित बनाउन सघाउने भन्दै महोत्सवस्थलमा सिसीटिभी क्यामेरा समेत जडान गर्न आयोजकलाई आग्रह गरेका छन् ।
महोत्सवलाई मदिरा र जुवातासरहित बनाउनुपर्नेमा जोड दिँदै पाण्डेले महोत्सवस्थल नदीकिनारमा भएकाले दुर्घटनाको जोखिम रहनेभन्दै महोत्सव स्थललाई सुरक्षित बनाउन पाण्डेले आग्रह गरेका छन् । महोत्सवमा होहल्ला तथा असामाजिक व्यवहार गरे सुरक्षाकर्मीले पक्राउ गर्ने गरी नेपाल प्रहरी परिचालन गरिने पाण्डेको भनाइ छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि कम्तिमा ६ वटा अकस्मिक द्वार राख्न पाण्डेले आयोजकलाई निर्देशन दिएका छन् ।
महोत्सव अवधिभर पूर्वपश्चिम राजमार्गबाट महोत्सवस्थलसम्म पुग्ने बाटोलाई एकतर्फी बनाउने आयोजकको तयारी छ । यस सडकमा अक्सफोर्ड कलेजतर्फबाट महोत्सवस्थल जाने र शिलान्यासचोकतर्फबाट फर्किने गरी सडक एकतर्फी गर्नका लागि स्थानीय सरोकारवालासँग छलफल र सहकार्य गरिने महोत्सव सचिवलय संयोजक तेजनारायण पाण्डेले बताए । महोत्सवलाई पूर्णरुपमा सुरक्षित पार्नका लागि आफूहरु लागिपरेको भन्दै पाण्डेले महोत्सवलाई सभ्य र भव्य बनाउने प्रतिबद्धता जनाए ।
यसैबीच, महोत्सवस्थललाई धूलोरहित बनाउने गरी काम भइरहेको महोत्सवका संरक्षक एवम् संघका अध्यक्ष दीपक सापकोटाले बताए । प्रमुख जिल्लाअधिकारी पाण्डेसँगै छलफलमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुखसहितको उपस्थिति रहेको जानकारी दिए । महोत्सव प्रवेशका लागि सर्वसाधारणले रु १०० तथा विद्यार्थीका लागि रु ७० को टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले अपाङ्ग तथा ज्येष्ठ नागरिक र शैक्षिक संस्थाबाट संस्थागतरुपमा विद्यार्थीहरुको सहभागिता भएमा उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
महोत्सव स्थलमा स्थनीय कृषकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शनी, माछा पोखरी निर्माण गरी स्थानीय जातका माछा राखिने महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक एवम् संघका वरिष्ठ सदस्य शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अवधिमा विभिन्न विषयमा छलफल तथा गोष्ठीको समेत आयोजना गरिएको सापकोटाको भनाइ छ । पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले पुस २६ देखि नै महोत्सवमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताए । उनकाअनुसार महोत्सवमा हरेक दिन हुने सांस्कृतिक कार्यक्रममा प्रकश सपूत, समीक्षा अधिकारी, हिमाल सागर, शिव परियार, रमेशराज भट्टराई, मेलिना राई, रचना, रिमाललगायतका कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमै विशेष भजन प्रतियोगिता, जातीय नृत्य, विद्यालयस्तरीय नृत्यलगायतका प्रस्तुती रहने लम्सालको भनाइ छ ।
महोत्सव उद्घाटन अघि शोभायात्रा गरिने
चौथो गैँडाकोट महोत्सव उद्घाटनका दिन बिहान बृहत शोभायात्रा आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका संयोजक छवि कँडेलले जानकारी दिए । कँडेलकाअनुसार महोत्सवलाई सफल पार्नका लागि विभिन्न सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिँदैछ । पुस २५ गते शुक्रबार बिहान १० बजे गैँडाकोट नगरपालिकाको कार्यालय परिसरबाट शोभायात्रा निकालिने भन्दै कँडेलले सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन् ।
महोत्सवको शोभायात्राका लागि गैँडाकोट १ देखि १८ नम्बर वडाका सम्पूर्ण सामुदायिक वन, धार्मिक संघसंस्था, वित्तीय संस्था, शैक्षिक संस्था, खेलकुदका संघसंस्था, विभिन्न जातजातिका सँस्कृति झल्किने वेषभूषासहित ¥याली निकालिने कँडेलले बताए । सबैले आ–आफ्नो संघसंस्था तथा समुदायको संस्कृति र पहिचान झल्किनेगरी शोभायात्रामा सहभागी हुन कँडेलले आग्रह गरेका छन् ।
शोभायात्रा उपसमिति संयोजक मेघराज कँडेलकाअनुसार शोभायात्रामा सहभागी हुने संघसंस्था तथा सम्पूर्ण समूहलाई सम्मानसहित प्रश्रसापत्र प्रदान गरिनेछ । शोभायात्राका लागि जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले व्यानर प्रदान गर्ने भन्दै कँडेलले यसका लागि आफ्नो संस्थाको नाम, ठेगाना र लोगोसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । शोभायात्रामा सहभागिताका लागि सम्पूर्ण संघसंस्थाहरुलाई पत्राचार गरिएको भन्दै कँडेलले कारणवस पत्र प्राप्त नभएको भए पनि सार्वजनिक सूचनालाई आधार मानेर सहभागी हुन अनुरोध गरेका छन् ।







