सहिद दिवसको पूर्वसन्ध्यामा गण्डकी बचत तथा ऋण सहकारीद्वारा ११६ युनिट रक्त संकलन

गैंडाकोट, माघ १५ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना अनुसार सहिद दिवसको पूर्वसन्ध्यामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 

गैंडाकोट-२ स्थित संस्थाको आफ्नै कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा २० जना महिलासहित कुल ११६ युनिट रक्त संकलन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले १२० पटक रक्तदान गरिसकेका रक्तदाता सन्तोष वाग्लेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै सम्मान गरे। सो अवसरमा मन्तव्य राख्दै मेयर अधिकारीले रक्तदानलाई सबैभन्दा ठूलो मानवसेवा भएको उल्लेख गर्दै सहिदहरूले देखाएको त्याग र बलिदानको सम्मान जीवन बचाउने यस्ता कार्यबाट हुने बताए। “रक्त अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गरिएको रक्तदान कार्यक्रम सहिदप्रति सच्चा श्रद्धाञ्जली हो,” उनले भने।

 

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द सुवेदीले सहिद दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको स्पष्ट पारे। उनले सहकारी केवल आर्थिक कारोबारमा सीमित नहुने भन्दै समाजका आवश्यकता र संवेदनशील विषयमा अग्रसर रहनुपर्ने बताए। “रक्तदान जस्तो पुण्यकार्यमा सदस्य, कर्मचारी र स्थानीयको उत्साहजनक सहभागिताले हामीलाई थप जिम्मेवार बनाएको छ,” अध्यक्ष सुवेदीले उल्लेख गरे।

 

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शकुन्तला तिवारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाकी सदस्य छली माया प्रधानले गरेकी थिइन्। सहिद दिवसको स्मरणमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमले सामाजिक सेवामा सहकारीको भूमिकालाई थप सुदृढ बनाएको सहभागीहरूले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको