गैंडाकोट, पौष २४ । माधव वियोगी वाङ्मय प्रतिष्ठान पोखरा नेपालले गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि गोविन्दराज विनोदीलाई उनकै गृह जिल्लामा माधव वियोगी साहित्य वाङ्मय प्रतिष्ठान पुरस्कार प्रदान गरेको छ।
नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रसहितको उक्त सम्मान बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष छन्दनायक माधव वियोगी र उपाध्यक्ष छन्द मणिले संयुक्त रूपमा समर्पण गरेका हुन्। सम्मान प्रदान गर्दै अध्यक्ष माधव वियोगीले नेपाली साहित्यमा विनोदीले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै “साहित्य, भाषा र संस्कृतिको उन्नयनमा निरन्तर साधनारत स्रष्टालाई सम्मान गर्न पाउनु प्रतिष्ठानका लागि गौरवको विषय रहेको बताए । प्रतिष्ठानका उपाध्यक्ष छन्द मणिले विनोदीको काव्यिक चेतना र साहित्यिक नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा दिएको उल्लेख गर्दै यो सम्मानले उहाँको सृजनात्मक यात्रामा थप ऊर्जा थप्ने विश्वास लिएको भन्दै आफ्नो मन्तव्य व्यक्त गरे।
सम्मान ग्रहण गर्दै कवि गोविन्दराज विनोदीले माधव वियोगी वाङ्मय प्रतिष्ठानप्रति आभार प्रकट गरे। उनले “यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समग्र साहित्यिक अभियानको कदरका रूपमा लिएको जनाउँदै नेपाली भाषा, साहित्य र स्थानीय स्रष्टाको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्मा, अमर बिरही गुरुङ, इन्द्रराज पौडेल, गोपी सापकोटा, नारायणप्रसाद तिवारी, धर्मानन्द शर्मा, लक्ष्मण गौतम ‘हिमाली’, लोचना अधिकारी, चित्रादेवी अधिकारी, चन्द्रावती वाग्ले, विश्वराज लम्साल, गोविन्दराज कोइराला, सृजन लम्साल, राधा पाण्डे, लेखराम सापकोटा, शम्भु गिरी ‘निर्दोष जीवन’ लगायत साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव शिव त्रिपाठीले गरेका थिए।







