गैँडाकोट, २७ पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई दर्शकले साथ दिएका छन् । आइतबार साँझ महोत्सवको स्टेज उक्लिएकी समीक्षालाई दर्शकहरुले करिब एक घण्टा साथ दिए ।
साँझमा नारायणीको चिसो बढ्दै जाँद स्टेजमा उक्लिएकी समीक्षाका गीतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो । उनले आफ्ना चर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । छड्के गलबन्दी, दुस्मन हेरेको हेरेइ, बिजुली बालेरलगायत १० भन्दा बढी गीत गाएर समीक्षाले मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
लम्सालकाअनुसार आइतबार महोत्सवमा समीक्षासँगै सरिता गुरुङ तथा आरसी पौडेल र दीपक खड्काले प्रस्तुती राखेका थिए । त्यसैगरी, महोत्सवमा आजदेखि भजन प्रतियोगितासमेत सुरु भएको छ । महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भजन प्रतियोगितामा १८ वटा भजन समूहको सहभागिता रहेको छ ।
चौथो गैँडाकोट महोत्सवः १० हजार दर्शकद्वारा अवलोकन
गैँडाकोट, २७ पुस । चौथो गैँडाकोट महोत्सवको आज आइतबार १० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो ।
महोत्सव सुरु भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताए । आगामी दिनमा दर्शकहरुको संख्या अझै बढ्दै जाने सापकोटाले बताए । महोत्सवमा २५० व्यावसायिक स्टलसँगै जलपरी, फिस टनेल, ओपेरा हाउस, कृषि उपज प्रदर्शनी, मुस्ताङको याक राखिएको सापकोटाले जानकारी दिए ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका महासचिव एवम् महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था कडा पारिएको बताए । महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजी सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको पाण्डेको भनाइ छ । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा अवलोकनका लागि दुई लाख भन्दा बढी दर्शक आउने भन्दै पाण्डेले महोत्सवमा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सव मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए । कँडेलकाअनुसार ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।







