मौलाकाली र लुम्बिनी केवलकारबीच सहकार्य सम्झौता, यात्रुहरूलाई २० प्रतिशत छुट

गैंडाकोट, माघ ०५। मौलाकाली केवलकार र लुम्बिनी केवलकारबीच आपसी सहकार्यअन्तर्गत सेवाग्राहीलाई २० प्रतिशत छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार एक केवलकारमा यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउने भएका छन्।

सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका हुन्। पौडेलका अनुसार यात्रुले अघिल्लो केवलकारको टिकट देखाएर छुट सुविधा प्राप्त गर्न सक्नेछन्। “हाललाई टिकट देखाएरै छुट उपलब्ध गराइनेछ, यसलाई अझ व्यवस्थित र सहज बनाउने विषयमा हामीले थप योजना बनाइरहेका छौँ,” उनले भने।

लुम्बिनी केवलकारका म्यानेजर घिमिरेले यो सहकार्यले दुवै केवलकारका सेवाग्राही लाभान्वित हुने बताए। उनका अनुसार अघिल्लो केवलकारको टिकट काटेको मितिले तीन महिनासम्म उक्त छुट सुविधा लिन सकिनेछ। “एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने संस्कृतिले पर्यटन प्रवर्धनमा पनि सकारात्मक प्रभाव पार्नेछ,” घिमिरेले बताए।

आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको सम्झौतालाई आपसी सहकार्यको राम्रो उदाहरणका रूपमा लिइएको छ। मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट १५ औँ शताब्दीदेखिको ऐतिहासिक महत्व बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ। त्यस्तै, लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ, जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा रहेको माँ कामाख्या मन्दिर पुग्न सकिन्छ।

मौलाकाली केवलकारको टप स्टेशनमा सुविधासम्पन्न होटल सञ्चालनमा रहेको छ भने वसन्तपुरमा १५० कोठा सहितको अत्याधुनिक होटल निर्माणको चरणमा रहेको छ। यस सहकार्यले धार्मिक तथा पर्यटन गन्तव्यहरूबीच आवागमन बढ्दै पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको