गैंडाकोट, माघ १० । गैंडाकोट नगरपालिका-५ मा रहेको एकता टोल महिला समूहको दशौँ साधारण सभा आज शनिबार सम्पन्न भएको छ।
नगर कार्यसमिति सदस्य एवं वडा नं ५ की वडा सदस्य शान्ति न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बोल्दै न्यौपानेले महिलाहरू संगठित भएर सामाजिक, आर्थिक तथा पारिवारिक सशक्तीकरणमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। उनले महिला समूहहरू विकासका मेरुदण्ड भएको उल्लेख गर्दै महिलाको सक्रिय सहभागिताबाट मात्र समावेशी र दिगो विकास सम्भव हुने बताउँदै उनले स्थानीय तह महिला लक्षित कार्यक्रमहरूमा निरन्तर सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
सभामा एकता टोल महिला समूहकी अध्यक्ष मेनका थापाले अध्यक्षीय मन्तव्य राख्दै समूहले स्थापना कालदेखि हालसम्म महिलाको क्षमता विकास, बचत-ऋण, सामाजिक चेतना अभिवृद्धि तथा समुदाय विकासका क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै उनले आगामी दिनमा सीपमूलक तालिम, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा जितबहादुर खनाल, माया रिमाल, अन्जु वाग्ले, मन्जु गौतम, रिवाज अधिकारी, लक्ष्मी खरेल, गीता भुसाल अम्बिका पाण्डे लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। सभालाई नारायणी बराल सापकोटाले सहजीकरण गरेकी थिइन् भने उपस्थित सम्पूर्णलाई सरस्वती भण्डारी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन्। सभाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजनाबारे समेत छलफल गरेको थियो।









