गैंडाकोट, माघ ११ । नेपाली कांग्रेसले नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि बालकृष्ण घिमिरेलाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको गैंडाकोट नगर कांग्रेस शनिबार एक विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घिमिरेको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको नगर कार्यसमिति गैंडाकोटले जनाएको छ।
नेपाली कांग्रेस नगर कार्यसमिति गैंडाकोटद्वारा जारी विज्ञप्तिमा पार्टीका अग्रज, सदस्य तथा शुभचिन्तकहरूलाई निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। विज्ञप्तिमा सामाजिक सञ्जाल, चोक-चौतारा, चिया पसल तथा विभिन्न स्थानमा फैलाइने भ्रामक र गलत सूचनाको पछि नलागी सत्य र तथ्यका आधारमा मात्रै धारणा बनाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसले अघि सारेका मूल एजेन्डा – सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, देशका स्रोत- साधनको अधिकतम उपयोग गर्दै समुन्नत र विकसित नेपाल निर्माण गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहँदै पार्टी अगाडि बढिरहेको उल्लेख गरिएको छ। सोही लक्ष्यअनुसार पार्टीका आधिकारिक उम्मेदवार घिमिरेलाई मतदान गरी विजयी बनाउन पार्टीका नेता, कार्यकर्ता तथा आम नागरिकसँग अपिल गरिएको छ।
“बद्लिँदो कांग्रेस, बद्लिँदो देश” भन्ने मूल नारासहित अघि बढिरहेको नेपाली कांग्रेसको अभियानमा सबै कांग्रेसजन, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी भई समुन्नत नेपाल निर्माणमा साथ दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति गैंडाकोटका सभापति बद्री सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नवलपुर क्षेत्र नं. १ का मतदाताहरूलाई चुनाव चिह्न ‘रुख’ मा मतदान गरी बालकृष्ण घिमिरेलाई अत्यधिक मतसहित विजयी गराउन हार्दिक अपिल गरिएको छ।







