गैंडाकोट, माघ १९ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर-१ को राजनीतिक सरगर्मी एकाएक बढेको छ।
विशेषगरी नेपाली कांग्रेसले कांग्रेसका प्रभावशाली नेता पुर्व महामन्त्री डा.शशांक कोइरालाले २०६४ देखि निरन्तर जित्दै आएको नवलपुर क्षेत्र नं १ मा नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाए सँगै जिल्लाको राजनीति थप तातेको हो । जिल्लामा बौद्धिक र विद्रोही नेताको पहिचान बनाएका घिमिरेको उम्मेदवारीले पार्टीभित्र मात्र नभई समग्र निर्वाचन क्षेत्रमा विशेष चर्चा पाएको छ। उनलाई युवा नेतृत्व, नयाँ सोच र फरक दृष्टिकोण बोकेका नेताका रूपमा चिनिन्छ, जसका कारण मतदाताको आकर्षण उनीतर्फ बढ्दै गएको देखिन्छ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घिमिरे नेविसंघको जिल्ला सदस्य, जिल्ला सचिव हुँदै हाल नेपाली कांग्रेसको जिल्ला उपसभापति पदमा बहाल रहेका छ्न । लामो समय देखि प्राध्यापन पेशामा आबद्ध घिमिरेले समाजका विविध पक्ष, आमनागरिकका समस्या र सरकारी कार्यशैलीमाथि निरन्तर निगरानी गर्दै आलोचनात्मक र निर्भीक भूमिका निर्वाह गरेका थिए। पार्टी भित्र र बाहिर बौद्धिक र नतिजा दिन सक्ने छवि बनाएका घिमिरे२०६२/६३ को जन आन्दोलनमा जिल्लामा लोकतान्त्रिक बुद्धिजीवीहरुको नेतृत्व गर्दै प्रजातान्त्रिक विचार समाजको जिल्ला अध्यक्षको रुपमा वैचारिक मुद्दामा स्पष्ट रुपमा आफुलाई उभाएका उनि शैक्षिक योग्यता, नीतिगत दखल र नतिजा दिन सक्ने खुबि भएका नेताका रुपमा चिनिन्छ्न ।
निर्वाचन प्रचारका क्रममा मतदाताले घिमिरे समक्ष राष्ट्रिय राजनीति, जिल्लाको विकासr निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा गम्भीर चासो र सुझावहरू राखिरहेका छन्। जनताको सेवा र विश्वास नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै घिमिरेले जनताले देखाएको भरोसालाई संसदसम्म पुर्याउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाएका छन्।
नवलपुरमा यसपटक कांग्रेस, एमाले, रास्वपा, नेकपा र अन्य साना दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि घिमिरेको युवा नेतृत्व, पारदर्शी छवि र प्राध्यापन पृष्ठभूमिले उनलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको स्थानीयहरूको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार घिमिरेको उम्मेदवारीले कांग्रेसमा मात्र होइन, नवलपुरका मतदातामाझ पनि उत्साह र नयाँ ऊर्जा थपेको छ, जसले अन्ततः मत परिणाममा प्रभाव पार्न सक्ने सम्भावना छ। निर्वाचन नजिकिँदै गर्दा घिमिरेको चुनावी अभियान घरदैलो, स्थानीय सभा तथा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा अघि बढिरहेको छ।
नवलपुरमा विशेष महाधिवेशनको पक्षमा नेतृत्वदायी भुमिका खेलेका घिमिरेको उम्मेदवारी र कांग्रेसमा विशेष महाधिवेशन पछि गगन थापाको नेतृत्व आएसँगै जिल्लामा विभिन्न कारणले कांग्रेससँग टाढा भएकाहरु कांग्रेसमा फर्किएर सांगठनिक भुमिका र जिम्मेवारी लिन सुरु गरेका छ्न । कांग्रेसमा आएको परिवर्तन सँगै नवलपुर एकमा कांग्रेसले १८ वर्ष पछि स्थानीय उम्मेदवार बनाएर मैदानमा पठाएकाले पनि परिवर्तनको बाटोमा कांग्रेस अगाडी बढेको भन्दै नवलपुर १ का युवा विद्यार्थी मात्रै नभएर आम मतदाताको रोजाईमा घिमिरे पर्दै गएका हुन । ‘हामी सक्छौँ, परिवर्तन सम्भव छ’ भन्दै नवलपुरमा कांग्रेस विशेष महाधिवेशनको अभियानको नेतृत्व गरेका घिमिरेलाई अहिले धेरै युवाले ‘जेन–जीका कांग्रेस नेता’ का रूपमा चिन्न थालेका छन्।
नवलपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०४८ देखि निरन्तर जित्दै आएको छ । २०४८ मा सुर्यभक्त अधिकारी, २०५१ मा महेन्द्रध्वज जिसी, २०५६ मा दामोअदर बस्ताकोटी र २०६४ यताका सबै निर्वाचनमा डा. शशांक कोइराला विजयी भएका थिए ।







