नेपालकै पहिलो ‘राइनो क्रुज’ गैंडाकोटबाट सञ्चालन

गैँडाकोट, माघ १९ । गैँडाकोटस्थित नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन तथा धार्मिक पर्यटकीय क्षेत्रहरूलाई आपसमा जोड्ने उद्देश्यसहित नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा आएको छ। ‘राइनो क्रुज’ नाम दिइएको उक्त क्रुजको आइतबार साँझ विधिवत् उद्घाटन भएसँगै नियमित सेवा सुरु गरिएको हो।

नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित क्रुज सञ्चालनमा ल्याइएको बताइएको छ। उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुजलाई गैँडाकोटको नमूना गहना भन्दै यसको सफल सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले क्रुजलाई देवघाट धाम हुँदै त्रिवेणी धामसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

नारायणी नदीमा क्रुज सञ्चालनका क्रममा देखिएका अवरोध हटाई नदीलाई थप गहिरो बनाउन पालिकाले सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा होटल रिभर क्राउनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जल पर्यटन र होटल व्यवसायलाई जोड्ने उद्देश्यले राइनो क्रुज र होटलबीच सहकार्य गरिएको बताए। क्रुज सञ्चालनले गैँडाकोट, नवलपुर मात्र नभई समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ।

होटेल व्यवसायी प्रभाकर पण्डितले नारायणी नदीमा नेपालकै पहिलो क्रुज सञ्चालनमा आउनुले देशकै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिएको बताए। यसले आन्तरिक पर्यटन वृद्धि गर्नुका साथै स्थानीय आर्थिक क्रियाकलापलाई चलायमान बनाउने उनको भनाइ छ।

क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि तथा होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर दूरीसम्म क्रुज सञ्चालनको अनुमति पाइएको जानकारी दिए। साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको छ। पूर्ण क्षमतामा २०० यात्रु अट्ने भए पनि हाल १५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको उनले बताए।

क्रुज पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गर्दै ढुङ्गेलले यो यातायातको साधन नभई मनोरञ्जनात्मक जलयात्राका लागि सञ्चालन गरिएको स्पष्ट पारे। सामान्यतया एक घण्टासम्म क्रुजिङ गराइने भए पनि प्याकेज तथा कार्यक्रमअनुसार समय फरक हुने उनले बताए।

क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर क्रुजिङका साथै विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सवजस्ता कार्यक्रमसमेत आयोजना गर्न सकिने व्यवस्था गरिएको छ। साधारण क्रुजिङको टिकट शुल्क प्रतिव्यक्ति ५ सय रुपैयाँ तोकिएको छ भने ब्रेकफास्ट क्रुजिङ १ हजार ५ सय, लन्च क्रुजिङ २ हजार र डिनर क्रुजिङ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रत्येक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको जानकारी दिँदै ढुङ्गेलले नारायणी नदी किनारलाई दक्षिण एसियाकै नमूना जल पर्यटन गन्तव्य बनाउने लक्ष्य रहेको बताए। होटल र क्रुज परियोजनामा हालसम्म ५० करोड रुपैयाँ लगानी गरिएको र आगामी दिनमा सेवा विस्तारसँगै लगानी वृद्धि गरिने उनले जानकारी दिए।

वर्षभरी सञ्चालन गर्ने योजनासहित सुरु गरिएको क्रुजले देवघाट धाम, मौलाकालिका, वाल्मीकि आश्रम, चितवनको सौराहा र लुम्बिनीलाई एउटै पर्यटकीय करिडोरमा जोड्न सहयोग गर्ने अपेक्षा गरिएको छ। क्रुज सञ्चालनसँगै प्रत्यक्ष रूपमा ५० जनाले रोजगारी पाएको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको