गैंडाकोट, फागुन ५ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले गैंडाकोटका पाका काङ्ग्रेस नेता करुणासागर सुवेदीलाई केन्द्रीय प्रचार-प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी पत्रअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउन तथा समानुपातिक मत वृद्धि गर्ने उद्देश्यसहित प्रचार-प्रसार कार्यलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित रूपमा सञ्चालन गर्न सुवेदीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पत्रमा प्रचार-प्रसार अभियानलाई परिणाममुखी बनाउन आफ्नो अनुभव र क्षमताको पूर्ण उपयोग गर्दै सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय सुवेदीको मनोनयनले नवलपुरसहित गैंडाकोट क्षेत्रमा काङ्ग्रेस कार्यकर्तामा उत्साह थपिएको स्थानीय नेताहरूले बताएका छन्। सुवेदीलाई पार्टी प्रवक्ता तथा केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसेले हस्ताक्षरित पत्रमार्फत जिम्मेवारी दिइएको हो।
यस मनोनयनसँगै आगामी निर्वाचनमा पार्टीको प्रचार रणनीति अझ सशक्त र व्यवस्थित हुने अपेक्षा गरिएको छ।








