नवलपुर, फागुन ५ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले आफ्ना उम्मेदवारहरूलाई अत्यधिक मतसहित विजयी गराउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा चुनावी अभियानमा खटिन निर्देशन दिएको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्षेत्रभित्रका ५२ वटै वडामा चुनावी प्रचार-प्रसार कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको सूचनामा उल्लेख छ। सूचनाअनुसार गण्डकी प्रदेश सदस्य, महासमिति सदस्य, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रदेश र नगर तहका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बन्धित वडामा गई मूल समिति, उपसमिति, भ्रातृ संगठन र वडा सभापतिसँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
यस्तै, औपचारिक जिम्मेवारी नपाएका नेता-कार्यकर्तालाई समेत आ-आफ्नो वडामा सक्रिय भई चुनावी अभियानमा जुट्न अपिल गरिएको छ।
सूचनामा प्रत्यक्षतर्फका उम्मेदवार बालकृष्ण घिमिरे तथा समानुपातिकतर्फकी उम्मेदवार संगिता काफ्ले घिमिरेलाई बहुमतसहित विजयी गराउन एकजुट हुन सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान गरिएको छ। क्षेत्रीय सभापति अमृत भट्टद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत पार्टी संगठनलाई वडा तहसम्म चलायमान बनाउँदै चुनावी माहोल सुदृढ गर्ने रणनीति अघि सारिएको जनाइएको छ।







