भरतपुर । आज आइतबारबाट चितवन जिल्लामा दोस्रो चरणको कोरोना खोप लगाउन सुरू भएको छ । चितवनका तीन केन्द्र भरतपुर अस्पतालसँगै रहेको मातृशिशु सेवा केन्द्र ‘एमसिएच’ भरतपुर, रत्ननगरको बकुलहर अस्पताल र माडीको बघौडा अस्पतालमा आज आइतबार १० बजेबाट कोरोना खोप लगाउन सुरू हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणको कोरोना खोप तीन केन्द्रबाट एक सातासम्म सात हजार चितवनवासीले लगाउने छन् ।
‘दोस्रो चरणमा चितवनका सात स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी कर्मचारीहरु, पत्रकार, नेपाल प्रहरी, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुले खोप लगाउनेछन्’ प्रमुख तिवारीले भने, ‘पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीले पनि दोस्रो चरणको खोप लगााउनेछन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगर र इच्छाकामनाभित्रका जनप्रतिनिधि, त्यहाँ कार्यरत कर्मचारी, पत्रकार, प्रहरी तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुले फागुन २, ३ र ४ गते भरतपुर अस्पतालसँगै रहेको एमसिएच भरतपुर केन्द्रमा कोरोना खोप लगाउनेछन् । ५ र ६ गते सरकारी कार्यालयका कर्मचारीहरुले खोप लगाउनेछन् भने ७ र ८ गते बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले खोप लगाउनेछन् । बघौडा अस्पताल माडीमा सोही नगरपालिकाका सरकारी कर्मचारी, जनप्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्नेहरुले मात्र खोप लगाउनेछन् । बघौडामा २, ३ र ४ गते बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेले खोप लगाउँछन् ।
तोकिएको लक्षित समूहमध्ये ९२.३३ प्रतिशतले कोरोना खोप लगाएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पहिलो चरणमा ३९ सय महिला र ३ हजार ७३ पुरूष सहभागी भए । ४ हजार ५९६ स्वास्थ्यकर्मी, १ हजार ४१ सफाइकर्मी, एम्बुलेन्स एवं शववाहन चालक ९६, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ६० जना, महिला स्वयंसेविका २७५ जना, विभिन्न आश्रमका असहाय २२२ जना, कैदीबन्दी ६८३ जनाले कोरोनाको खोप लगाएका थिए ।







