
गैंडाकोट, भाद्र २७ । जेनजेड आन्दोलनका क्रममा सोही समूहबाट भएको तोडफोड तथा आगजनीले गम्भीर क्षति पुर्याएको मौलाकाली केवलकार अनिश्चितकालका लागि बन्द गरिएको छ। कम्पनीले शुक्रबार जारी गरेको सूचनामा अर्को सूचना नआएसम्म केवलकार सञ्चालन रोकिएको जनाएको छ।
मौलाकाली केवलकार परिवारले यात्रु तथा सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक जानकारी समयमै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।
सूचनामा भनिएको छ, “हालको विशेष परिस्थितिका कारण मौलाकालि केवलकार अर्को सूचना नआएसम्मका लागि बन्द रहनेछ। यस असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।”
मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार आगजनीले केबल लाइन, स्टेसन परिसर र उपकरणमा ठूलो क्षति पुर्याएको छ। “सुरक्षालाई पहिलो प्राथमिकता दिइएको छ। सम्पूर्ण संरचना मर्मत र प्राविधिक परीक्षण नभएसम्म सञ्चालन सम्भव छैन”, उनले स्पष्ट पार्दै “क्षतिको मूल्यांकन भइरहेको छ। मर्मत कार्य छिट्टै सुरु गर्नेछौं र सम्भव भएसम्म छोटो समयमा सेवा पुनः सञ्चालन गर्ने तयारी हुनेछ।”
धार्मिक तथा पर्यटन दृष्टिले महत्वपूर्ण मानिने मौलाकालि केवलकार बन्द रहँदा यहाँ आउने भक्तजन र पर्यटकलाई ठूलो असुविधा भएको छ। केवलकारमा निर्भर स्थानीय व्यवसायीहरूलाई समेत प्रत्यक्ष असर परेको छ। होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा ग्राहक संख्या घट्दा आर्थिक गतिविधि प्रभावित बनेको गैंडाकोटका व्यवसायीहरूले बताएका छन्।