
गैंडाकोट, भदौ २८ । हालैको आगजनी तथा तोडफोड घटनाबाट गैंडाकोट नगरपालिकाको कार्यालयलगायतका केही वडा कार्यालय भवन र त्यहाँ रहेका सामग्रीहरू क्षतिग्रस्त तथा हराएका छन्। नगरपालिकाले स्थानीय प्रतिनिधि, प्रहरी, सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा प्रत्यक्षदर्शीका आधारमा घटनामा सहभागी व्यक्तिहरूले लगेका सामग्री स्वेच्छाले फिर्ता गर्न अनुरोध गरेको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको सुरक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि नागरिकले हराएका सामान आफ्नो साथमा भएमा तुरुन्तै सम्बन्धित कार्यालयमा बुझाउन वा नगर प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ। फिर्ता नगरेमा कानूनी कारबाहीमा पर्नुपर्ने चेतावनीसमेत दिइएको छ।
यस क्रममा नगरपालिकाले नागरिक, संघसंस्था, व्यापारी तथा सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दै गैंडाकोट नगरवासीलाई धन्यवाद व्यक्त गरेको छ।
सामग्री फिर्ता गर्ने सम्पर्क व्यक्ति नगर प्रहरी प्रमुख दिपक अधिकारीलाई ९८६१२७१२७५ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ। साथै नगरपालिकाले त्यस्ता व्यक्तिहरूको सहजताका लागि सामानहरू व्यक्तिले स्वयं उपस्थित भई वा अरू व्यक्तिको माध्यमबाट समेत फिर्ता गर्न सकिने जनाएको छ।