अन्तरिम प्रधानमन्त्रीज्यूलाई खुला पत्र

सम्मानीय अन्तरिम प्रधानमन्त्रीज्यू,
सादर नमन ! नेपालकी आमाले इतिहासको कठिन घडीमा फेरि तपाईंलाई न्यायको तराजु सम्हाल्ने अवसर दिनुभएको छ। जनताको हृदयमा बस्न सफल मातृत्वपूर्ण नेतृत्व, शान्त स्वरुप र अडानपूर्ण न्यायप्रतिको विश्वासकै कारण आज तपाईंको काँधमा नयाँ नेपालको आधारशिला निर्माण गर्ने जिम्मेवारी आएको हो।

हामी विश्वास गर्छौँ-हिजो जस्तै आज पनि तपाईंको तराजु डगमगाउने छैन, सहिदहरूले देखेको सपना अधुरो रहने छैन। यो पत्र एउटा सामान्य नेपाली युवा/नागरिकको नमन मात्र होइन, तपाईंको नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति भावनात्मक विश्वास र केही विनम्र सुझाव पनि हो।
*किन नेपाली युवामा विद्रोहको ज्वाला उठ्यो?

*जनप्रतिनिधि र मन्त्रीहरू सेवक नभई शासक बने; भ्रष्टाचार र दलाल प्रवृत्तिले लोकतन्त्रलाई जोकतन्त्रमा परिणत गर्‍यो।

*कार्यालयहरू सेवाग्राहीका होइन, कार्यकर्ता भर्ती र मुठभेडका केन्द्र बने।

*बिचौलियाको सल्लाहमा नीति बने; राज्यको सम्पत्ति आफ्नै खल्तीमा थुपार्ने धन्दा चल्यो।

*संवैधानिक निकाय, न्यायालयदेखि राजदूतावाससम्म पार्टीका कठपुतलीले भरिए।

*जनताको आवाज दमन गरियो, आफ्ना लागि मिडिया बनाइयो, सजिएको नाटक मञ्चस्थ गरियो।

*रोजगारी, उत्पादन, सुशासन र शान्तिको सट्टा-नक्कली कार्यक्रम, चुनावी गफ र कार्यकर्तापोषण मात्र भयो।

*युवाको मेहनतभन्दा पैसा, डन र दलालको पहुँचलाई प्राथमिकता दिइयो।

*संविधानलाई खल्तीमा राखेर व्याख्या गर्ने वकिलहरू भाडामा प्रयोग भए।

*चुनावअघि प्रगतिशील घोषणापत्र, चुनावपछि बिर्सिने परम्परा बस्यो।

*नेताहरू सत्ताका लागि, सुविधा र अकुत सम्पत्ति थुपार्नकै लागि, जनताको बलिदानलाई कुल्चेर राजसी जीवन बिताउन मात्र लागे।

*यी पीडादायी अनुभवहरूले नै जेनेरेसन-जेड (Gen Z) को हृदयमा विद्रोहको ज्वाला जगाएको हो।

– के थियो नेपाली जनताको चाहना ?

*हामीलाई किताबमा मात्र लेखिएको लोकतन्त्र होइन, आर्थिक समृद्धि, रोजगारी र समान अवसर चाहिन्छ।

– हामी यस्तो प्रणाली चाहन्छौँ ।

*प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री, मन्त्री र राष्ट्रपति हुने।

*संसद सानो तर जिम्मेवार, कानुन निर्माणमा केन्द्रित हुने।

*ईमानदार युवा र विज्ञहरूको सानो मन्त्रिपरिषद्।

*प्रदेश खारेज भई स्थानीय तहलाई अधिकारसहित बलियो बनाइने।

*भ्रष्टाचार नियन्त्रण गर्न कठोर कानुन र शून्य सहनशीलता।

*उद्योग–व्यवसायमा युवालाई प्रोत्साहन, सुलभ कर्जा र कडा नियमन।

*पेन्सन, महंगा सुविधा, आलिसान गाडी र बंगला जस्ता अपव्यय रोक्ने।

<*शिक्षा र स्वास्थ्य निशुल्क, गुणस्तरीय र सबैका लागि समान।

*स्वदेशी उत्पादनलाई संरक्षण, निर्यात बढाउन अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्ने।

*जनताले जनप्रतिनिधिलाई “रिकल” गर्ने अधिकार पाउने।

*सबै राष्ट्रसँग समान, मैत्रीपूर्ण कूटनीति; कसैको इशारामा होइन, नेपाली जनताको हितमा सरकार।

अन्तिम भाव-

सम्मानीय प्रधानमन्त्रीज्यू,
यो देश धेरैपटक आशा बोकेर उठेको छ, तर पटक–पटक निराशामा डुबाइयो। आज फेरि आमाको छातीमा बलिदान दिने सहिदहरूको रगत ताजा छ। त्यो रगतलाई धोकेबाजी गर्ने कुनै शक्ति अब स्वीकार्य हुनेछैन। हामी तपाईंलाई नेपालको आमाको स्वरुपमा देख्छौँ-जसको न्यायपूर्ण हात, ममतामय दृष्टि र अटल आत्मबलले मात्र नयाँ पुस्ताले भविष्यमा गर्व गर्ने नेपाल निर्माण गर्न सक्छ। आजको अवसर केवल तपाईंको मात्र होइन, सम्पूर्ण नेपाली पुस्ताको हो । हामी आशावादी छौँ-यो अन्तरिम सरकार सहिदहरूको सपना, जनताको चाहना र भविष्यको नेपाल निर्माणमा अविस्मरणीय अध्याय बन्नेछ।

एक प्रतिबद्ध नेपाली नागरिक
तीर्थराज रिमाल
गैंडाकोट-५

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको