काठमाडौँ, असोज ३ । नेपाली कांग्रेसले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य-मान्यता, समानता र स्वतन्त्रताको संरक्षण र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक त्याग, बलिदान र जनआन्दोलनका क्रममा जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात-अज्ञात वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले संविधान दिवसले नेपालको लोकतान्त्रिक आन्दोलन र जनताको विजयलाई पुनः स्मरण गराउने बताए।

विज्ञप्तिमा २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित भई लागू भएको संविधानले मुलुकमा जनताको निर्वाचित प्रतिनिधिमार्फत शासन गर्ने अधिकार सुनिश्चित गरेको स्मरण दिलाइएको छ। यस संविधानले समानता, सामाजिक न्याय र समावेशीताको आधारमा राज्यव्यवस्था सञ्चालन गर्ने व्यवस्था गरेको भन्दै देउवाले यसको प्रभावकारी कार्यान्वयन नै सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाको सुदृढीकरण, सुशासन, आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि संविधानकै बाटोलाई मार्गदर्शक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। विज्ञप्तिमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र संविधानका प्रमुख उपलब्धि भएको र यसलाई जीवन्त रूपमा कार्यान्वयन गर्न राजनीतिक स्थिरता र सहकार्य अपरिहार्य रहेको बताइएको छ।
देउवाले विविधतामा एकताको मुलमन्त्रलाई आत्मसात् गर्दै राष्ट्रिय हित र सार्वभौमसत्ता जोगाउन सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। संविधान दिवसले नेपालको गौरव, मुलुकको प्रगतिशील यात्रा र लोकतान्त्रिक उपलब्धिलाई आत्मसात् गर्ने अवसर भएको भन्दै उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।







