
काठमाडौँ, असोज १६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान र प्राप्त सूचना अनुसार उपत्यकामा असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यस अवधिमा बाढी, पहिरो, धस्सा जस्ता विपद्को जोखिम उच्च हुने भएकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यधिक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अनावश्यक रुपमा यात्रा नगर्न, विशेष गरी काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ। विपद् उत्पन्न भएमा उद्धार, सहयोग तथा राहत आवश्यक परेमा तत्काल प्रहरी प्रशासनसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
प्रशासनले काठमाडौं जिल्ला प्रहरी परिसर, महानगरीय प्रहरी बल र सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्बन्धित निकायका सम्पर्क नम्बर सार्वजनिक गर्दै आपत्कालीन समयमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रशासनको विज्ञप्तिमा भनिएको छ, “स्वयं आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउनु अत्यन्त जरुरी भएको हुँदा सर्वसाधारणले सुरक्षित रहनुहुन आग्रह गर्दछौं।”
(सूचना असोज १६ गते बिहान ९ बजे जारी गरिएको हो)