रागो छिनाउन ३ लाख बढी खर्च गरे एक युवकले

पर्वत, असोज १७ । जिल्लाको जलजला गाउँपालिका-३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ।

कोत भगवती व्यवस्थापन समितिले पञ्च बली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत छेदन गर्ने व्यक्तिको टुङ्गो लाग्ने गरेको छ। जसले सबैभन्दा बढी रकम बुझाउने सर्त राखेका हुन्छ उसले नै राँगोको शिर छेदनको मौका पाउने कोत भगवतीको परम्परा रहेको छ।

 

यही प्रक्रिया अनुसार यस वर्षको नवदुर्गा पूजामा अनुज मल्लले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँमा शिर छेदनको अवसर पाएका हुन्। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार समितिले खरिद गरेको राँगोलाई ‘सरकारी राँगो’ भन्ने गरिएको छ। यसरी छेदनबापत प्राप्त भएको रकमलाई कोषमा राखेर कोत भगवतीको आन्तरिक विकासमा खर्च हुने गरेको छ।

 

हरेक वर्ष १०/१५ जनाले राँगोको शिर छेदनका लागि टेन्डर हाल्ने गरेका छन्। सङ्कल्प गरेर टेन्डर हालेकामध्ये जसले यो मौका पाउँछ उसले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको छ। नवरात्रीको मौकामा हरेक वर्ष मेला लाग्ने र मेलाको अन्तिम दिन नवमीको दिनमा मेलाको समापन सहित कोत भगवतीको पूजाआजा गर्ने गरिएको छ। सोही पूजाको क्रममा राँगो सहितको पञ्च बली दिने गरिएको हो।

 

‘राँगोको शिर छेदनको लागि गोप्य टेन्डरबाट बढिबढाउ गरिएको हुन्छ। जसले सबैभन्दा बढी पैसा तिरेको हुन्छ उसले नै छेदनको मौका पाउँछ’, अध्यक्ष आचार्यले भने, ‘समितिले किनेर ल्याउने भएकोले उक्त राँगोलाई सरकारी राँगो भन्ने गरिएको छ। यसरी आएको पैसा कोत मन्दिरको कोषमा राखेर व्यवस्थापन र आन्तरिक विकासका लागि प्रयोग हुन्छ।’

 

परापूर्व कालदेखि नै त्यो उक्त ठाउँको सुरक्षाको लागि हतियारहरू राख्ने गरिएको थियो। त्यसैले हरेक दसैँमा दुर्गाको पूजा हुने गरेको छ। धाइरिङ, शालिजा, लेकफाँट, मल्लाज र बाँसखर्कको साझा कोतका रूपमा रहेको उक्त कोत भगवती मन्दिर पुरानो र ऐतिहासिक पनि भएकाले पनि धेरैले मनोकामना पूरा हुने विश्वास गर्ने गरेका छन्। त्यहाँको समुदायले विभिन्न पूजाआजा तथा महायज्ञ लगाएर नियमित पूजाआजाको लागि आर्थिक व्यवस्थापनको काम गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको