गैँडाकोटको कालिका रिफाइनरीमा मजदुर आन्दोलित, व्यवस्थापनद्वारा २४ जना कामदार बर्खास्त

गैँडाकोट, असोज २३ । गैँडाकोट-७ मा अवस्थित कालिका रिफाइनरी प्रालिका मजदुरहरु उद्योग व्यवस्थापनको निर्णयविरुद्ध आन्दोलित भएका छन् । विगत तीन वर्षदेखि निरन्तर काम गर्दै आएका २४ जना मजदुरहरुलाई उद्योगले दशैँको फुलपातिसम्म काम गराएपछि अचानक हाजिरी रोक्दै कामबाट हटाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन चितवनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठका अनुसार बर्खास्त गरिएका मजदुरमध्ये ५ जना महिला र १९ जना पुरुष रहेका छन् । कुनै जानकारी वा कारण बिना कामबाट निकालिनु अत्यन्तै दुखद र अमानवीय व्यवहार भएको उहाँको भनाइ छ ।

 

श्रेष्ठका अनुसार मजदुरहरुले आफूहरुको पुनःबहाली नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । आज बिहानदेखि उनीहरुले उद्योगको मुख्य गेट अगाडि प्लेकार्डसहित धर्ना सुरु गरेका छन् ।त्यस्तै, सो संगठनका केन्द्रीय सदस्य सूर्य गिरीले उद्योगमा कार्यरत कर्मचारीहरुले हालसम्म औषधि उपचार, बिरामी विदा, वार्षिक विदा लगायतका कुनै पनि सुविधा नपाएको जानकारी दिए । गिरीका अनुसार जागिरबाट निकालिएका विषयमा उद्योगका सञ्चालक दिपक सापकोटासँग कुरा गर्दा उल्टै “जे गर्न सक्छौ, गर” भन्ने शैलीमा धम्कीपूर्ण व्यवहार गरिएको पनि बताउनुभयो ।सञ्चालक सापकोटा गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।

 

तर, उद्योगका सञ्चालक दिपक सापकोटाले भने उक्त आरोप अस्वीकार गरे । उनले दशैँसम्मको सम्पूर्ण तलब भुक्तानी गरेर कर्मचारीहरूलाई बिदा गरिएको स्पष्ट पारे । “उद्योगको आर्थिक अवस्था कमजोर रहेको र हाल जनशक्ति आवश्यकता नपरेको कारण कामदारहरूलाई बिदा गरिएको हो,” सापकोटाले भने ।

 

तेल उत्पादन गर्दै आएको सो उद्योगमा करिब १०० जना मजदुर कार्यरत रहेको बताइएको छ ।आन्दोलनरत मजदुरहरुले स्थानीय प्रशासन र सरोकारवालासँग अन्यायविरुद्ध आवाज उठाउन आग्रह गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको