
गैंडाकोट, असोज २४ । २९औँ विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घ, चाबहिल काठमाडौँको संयोजकत्वमा चितवन नवलपुर दाना वितरक संघले गैंडाकोट-२ मा अवस्थित महेन्द्र स्मारक प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई ४२० वटा अण्डा वितरण गरिएको छ।
चितवन-नवलपुर दाना वितरक सङ्घका निवर्तमान अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल उपस्थित थिए। कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, गैंडाकोट वडा नं. २ का वडा सदस्य खगराज आचार्य, विद्यालयका प्रधानाध्यापक शिवराज काफ्ले, गैंडाकोट उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष दीपक सापकोटा, उपाध्यक्ष छविलाल कँडेल, गुणराज सिलवाल, वीरेन्द्र अग्रहरी, लक्ष्मण देवकोटा लगायत सहभागी थिए।
प्रमुख अतिथि हेमराज ढकालले अण्डा मानव स्वास्थ्यका लागि अत्यन्त पौष्टिक र सुलभ स्रोत भएको बताउँदै विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई स्वस्थ आहारको महत्व बुझाउन यस दिवसले सहयोग पुर्याउने धारणा व्यक्त गरे।
“अण्डा सस्तो, स्वादिष्ट र पोषणयुक्त आहार हो। यस्तो अभियानले बालबालिकामा सन्तुलित आहारप्रतिको चेतना बढाउनेछ,” उनले भने।
कार्यक्रमका अध्यक्ष तेजनारायण पाण्डेले नेपालमा अझै पनि अण्डा सेवनको सविधा र सचेतना न्यून रहेको उल्लेख गर्दै यस्तो अवसरले कुखुरापालन व्यवसाय र उपभोग दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
“हामी किसान मात्र होइन, स्वास्थ्य सन्देशका वाहक पनि हौं। हरेक परिवारले दैनिक अण्डा खान सके देश पोषणसम्पन्न बन्न सक्छ,” अध्यक्ष पाण्डेले जोड दिए।
कार्यक्रमको सहजीकरण सङ्घका जिल्ला सदस्य दीपक पाण्डेले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई अण्डा वितरणसँगै अण्डाको पोषण र स्वास्थ्य लाभबारे जानकारीसमेत प्रदान गरिएको थियो।