
गैंडाकोट, असोज २६ । जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोटले शनिबार आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष दीपक प्रसाद सापकोटाले स्थापना कालदेखि नै संघ उद्योगी-व्यवसायीहरूको हकहित संरक्षण, संवर्द्धन र समन्वयमा निरन्तर अग्रसर रहँदै आएको बताए। उनले संघले संवाद र सहकार्यका माध्यमबाट क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्दै आएको उल्लेख गर्दै भने, “विभिन्न गोष्ठी, सेमिनार, तालिम, भ्रमण र प्रदर्शनीमार्फत उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि संघ सधैं सक्रिय छ।” अध्यक्ष सापकोटाले आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म ‘गैंडाकोट महोत्सव-२०८२’ आयोजना गर्ने तयारी पूरा भइसकेको जानकारी पनि गराए।
त्यसैगरी, गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले व्यवसायीहरूका पहल र उद्योग विस्तारका लागि अनुकूल वातावरण बनाउन नगरपालिका तत्पर रहेको बताए।
उनले नगर विकासका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै भने, “नगरपालिका र निजी क्षेत्र मिलेर अघि बढ्दा मात्र दिगो आर्थिक विकास सम्भव छ।”
कार्यक्रममा महासचिव तेजनारायण पाण्डेले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उद्योग व्यवसाय हितका विभिन्न कार्यक्रम सञ्चालन भएको जानकारी दिए।
त्यसैगरी कोषाध्यक्ष माधव प्रसाद सापकोटाले आम्दानी र खर्चका विषयमा पारदर्शिता अपनाउँदै अघि बढेको आर्थिक प्रतिवेदन पेश गरे।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणि कँडेलले संस्थाले ऐन, नीति र निर्देशनअनुसार काम गर्दै आएको र संस्थापक अध्यक्ष अमृत भट्टचनसहित पूर्व पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको बताए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल कँडेलले स्वागत मन्तव्य दिँदै पहिलो, दोस्रो र तेस्रो गैंडाकोट महोत्सव ऐतिहासिक बनेको स्मरण गरे। उनले राजनीतिक अस्थिरता, नीति निर्माणमा अनिश्चितता र भ्रष्टाचार केन्द्रित प्रणालीका कारण व्यवसायीहरू कठिनाइमा परेको धारणा पनि व्यक्त गरे।
साधारण सभामा विभिन्न उद्योगी-व्यवसायी, जनप्रतिनिधि, सामाजिक संघ-संस्थाका प्रतिनिधि र पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।